बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिका वडानम्बर १ अलकापुरीमा रहेको भैरव माविले आफ्नो स्थापनाको ६० औं वार्षिकोत्सव (हीरक जयन्ती) मनाएको छ । सोमबार विद्यालयले वागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा हीरक जयन्ती मनाएको हो । विसं २०२२ सालमा स्थापना भएको भैरव माविले हीरक जयन्ती मनाउँदै गर्दा यहाँसम्म आइपुग्दा सहयोग गर्ने विभिन्न तहका व्यक्तिहरुको योगदानको कदर गर्दै सबैलाई हार्दिक आभार र धन्यवाद व्यक्त गरेको छ ।
विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले आर्थिक र अन्य गतिविधि प्रस्तुत गर्दै विद्यालयको पछिल्लो अवस्था, विद्यार्थी संख्या, शिक्षक संख्यालगायत विषयमा जानकारी दिनुभयो । उहाँका अनुसार हाल ११० जना विद्यार्थी भर्ना भएकोमा १०४ जना नियमित विद्यालय आउने गरेका छन् । यस्तै १४ जना शिक्षक कार्यरत रहेको विद्यालयको भवन पक्की भए पनि विभिन्न चरणमा भइरहेका वर्षाका कारण विद्यालय परिसरमा वरिपरि पहिरो जाने क्रम रहेकाले यसलाई रोकथाम गर्नका लागि आवश्यक सहयोगको माग उहाँले प्रमुख अतिथी मन्त्री बादेसँग गर्नुभएको थियो । विद्यालयमा ०६३ सालदेखि मावि संचालन भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रमको उद्घाटनपछि सम्बोधन गर्नुहुँदै वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले सामुदायिक विद्यालयमा भर्ना दर घटिरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । राज्यले शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरेको भए पनि यसले दिने प्रतिफल सन्तोषजनक नभएको भन्दै उहाँले कमीकमजोरी कहाँ छ र समाधान कसरी हुन्छ भन्नेतर्फ सबैले सोच्नु पर्नेमा जोड दिनुभयो । शिक्षा क्षेत्र राजनीति गर्नेहरुको चासोमा कम पर्ने गरेको बताउँदै यसमा आबद्ध रहनुहुने सबैको अथक मिहेनतले शिक्षा क्षेत्रमाथि उठेको उहाँले उल्लेख गर्नुभयो । धेरैजसो विद्यालयका भौतिक अवस्थालाई मात्र राजनीति गर्नेहरुले महत्व दिने गरेको भन्दै अब भौतिक पूर्वाधार र शिक्षाको गुणस्तर उकास्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । आफूले अहिले सम्हालेको मन्त्रालयकै कार्यक्षेत्र भएकाले शिक्षा क्षेत्रमा सकेको काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले भैरव माविका समस्या समाधान गर्न आफू सधैं तयार रहेको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि पालिका अध्यक्ष भगवान अधिकारीले विद्यालयमा धेरै समस्या रहेका भए पनि एकैपटक सबै समाधान गर्न बजेटको अभाव भएको बताउनुभयो । क्रमशः समस्याहरुलाई प्राथमिकतामा राख्दै समाधानतर्फ आफूहरु लागिरहेको र पालिका यसमा सधैं चिन्तित रहेको उहाँको भनाइ थियो । पालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले शिक्षाको गुणस्तर सुधार हुनका लागि नीतिगत सुधारको पनि उतिकै आवश्यकता रहेको बताउनुभयो । वडानम्बर १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनाले विद्यालयलाई अहिलेको अवस्थामा ल्याउनु हुने अग्रज व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै यस विद्यालयलाई वडाले गर्ने सहयोगमा कुनै कमी हुन नदिने बताउनुभयो । कमजोरी सबैका हुने भन्दै उहाँले सुधार गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपालकृष्ण सापकोटाले विद्यालयमा राजनीति हुन नहुने बताउँदै यहाँका समस्याहरुका बारेमा जानकारी दिनुभयो । संचार र इन्टरनेट लगायतका समस्या समाधान हुनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका वडा सहसचिव चुणामणि तिमल्सिना, नेकपा एमालेका वडा कमिटी अध्यक्ष देवराज घिमिरे, नेपाली कांग्रेसका वडा सभापति मदनसिंह पाख्रिन, पालिकाका पूर्वअध्यक्ष प्रेमबहादुर तिमल्सिना लगायतले समसामयिक परिस्थितीका बारेमा बोल्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक बिनोद घिमिरेले स्वागत मन्तव्यसहित अतिथिहरुलाई स्वागत गर्नुभएको कार्यक्रममा लोक तथा दोहोरी गायक राजेन्द्र भण्डारी तथा स्थानीय कलाकार गोविन्द तिमल्सिना (चमेली बा) लगायत विद्यालयका विद्यार्थीहरुले सांगितिक प्रस्तुती दिनुभएको थियो । कार्यक्रम वडासदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया