काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका-१० बस्ने तनहुँ भिमाद गाउँपालिका-५ घर भएका ३२ वर्षीय रोविन जि.आर र काठमाडौँ महानगरपालिका-७ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-६ घर भएकी ४८ वर्षीया गीता माया मगर रहेका छन् ।
पक्राउ मध्ये रोविनले पोर्चुगल पठाइदिछु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र गीताले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रोविनलाई काठमाडौँ महानगरपालिका-१४ बाट र गीतालाई काठमाडौँ महानगरपालिका-७ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया