• २०८३ भाद्र २८ | Sun, 13 Sep 2026

रसुवा–भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतलाई निष्कर्षमा पुर्‍याउने तयारी

रसुवा–भोटेकोशी बाढीपछि खोज, उद्धार र राहतलाई निष्कर्षमा पुर्‍याउने तयारी

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टबीच छलफल भएको छ । छलफलमा बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका क्रममा देखिएका पछिल्ला चुनौती, तत्काल समाधान गर्नुपर्ने विषय तथा प्रभावित परिवारलाई बसोबास र जीविकोपार्जनका लागि आवश्यक राहत उपलब्ध गराउने विषयमा छलफल भएको हो ।

बैठकमा रसुवा, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्ना जिल्लाको पछिल्लो अवस्थाबारे रिपोर्टिङ गर्नुभएको थियो । उहाँहरूले खोज तथा उद्धार कार्यलाई निश्चित समयसीमासहित अघि बढाउनुपर्ने, सम्पर्कविहीन भएका बस्तीबीचको कनेक्टिभिटी तत्काल पुनर्स्थापना गर्नुपर्ने तथा प्रभावित क्षेत्रमा थुप्रिएको गेगर (डेब्रिस) व्यवस्थापनका लागि स्थानीय तहबाट माग आइरहेको जानकारी गराउनुभएको थियो ।

त्यसैगरी पुनर्निर्माणका क्रममा प्रभावित क्षेत्रको पहुँच र स्थानीयको जीविकोपार्जनलाई प्राथमिकतामा राख्नुपर्ने विषय पनि प्रमुख जिल्ला अधिकारीहरूले उठाउनुभएको थियो । भर्चुअल माध्यमबाट भएको छलफलमा तत्कालीन राहत तथा उद्धारपछि अस्थायी आवास हुँदै स्थायी पुनर्निर्माणतर्फ अघि बढ्ने विषयमा समेत विस्तृत छलफल भएको थियो ।

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्टका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा खोज, उद्धार तथा राहतका क्रममा देखिएका चुनौती समाधान गर्न नियमित रूपमा विस्तारित बैठक तथा छलफल गर्ने सहमति भएको छ ।

बैठकले जारी खोज तथा उद्धार कार्यलाई प्रभावकारी रूपमा टुंगोमा पुर्‍याउँदै प्रभावित परिवारलाई आवश्यक राहत र अस्थायी आवासको व्यवस्था गर्ने तथा त्यसपछि स्थायी पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा जोड दिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २८, आईतवार २०:१८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP