बनेपा । काभ्रेको बनेपामा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बनेपा नगरपालिका–८ स्थित अरनिको राजमार्गमा उग्रचण्डी पेट्रोल पम्प अगाडि भएको दुर्घटनामा बनेपा नगरपालिका–७ निवासी ७२ वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार २०८३ साल भदौ २७ गते राति करिब ८ः०५ बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका मानन्धरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको महाभारत गाउँपालिका–६ घर भई हाल बनेपा नगरपालिका–४ नाला बस्ने २७ वर्षीय नवीन घिसिङ र पैदलयात्री मानन्धर दुवै घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लगिएको थियो ।
उपचारका क्रममा मानन्धरको अवस्था गम्भीर भएपछि राति ९ः२५ बजे थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएको थियो । अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा चिकित्सकले राति १२ः२३ बजे मानन्धरलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक घिसिङको भने अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया