ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे । उनलाई न त कहिल्यै छुट्टी हुन्छ, न त फुर्सद नै । सार्वजनिक बिदा होस् या चाडपर्व, उनी आफ्नो जिम्मेवारीबाट टाढा हुँदैनन् । दिन होस् या रात, वैशाख–जेठको प्रचण्ड गर्मी होस् या पुस–माघको कठ्याङ्ग्रिँदो जाडो—उनका लागि सेवाको यात्रा कहिल्यै रोकिँदैन । मानव जीवनकै सर्वाधिक ऊर्जाशील युवा उमेरमा आफ्ना व्यक्तिगत इच्छा, चाहना र सुखसुविधालाई पछाडि राखेर उनी निरन्तर मानव सेवामा खटिएका छन्। उनका उमेरका धेरै साथीभाइ घर बनाउने, गाडी किन्ने, आर्थिक भविष्य सुरक्षित गर्ने र सुखमय जीवन बिताउने यात्रामा छन्। तर काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ का उर्विन सापकोटा भने विलासी जीवनभन्दा निकै फरक यात्रामा छन्—मानवताको यात्रामा। उनले आफ्नो जीवनको नयाँ परिभाषा भेटेका छन्। त्यो परिभाषा हो—आफ्ना लागि मात्र होइन, अरूका लागि पनि बाँच्नु। हरेक मानिसका आफ्नै सपना हुन्छन्। समाजमा प्रतिष्ठित व्यक्ति बन्ने, मनग्य सम्पत्ति कमाउने, परिवारलाई सुखी बनाउने र संसार घुमेर जीवनको आनन्द लिने सपना उर्विनका पनि थिए। आफ्नो र परिवारका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी उनमा पनि थियो।
स्वास्थ्यकर्मीको पेशा रोजेका उनले अस्पताल, फार्मेसी, पोलिक्लिनिकदेखि युनिसेफलगायत विभिन्न गैरसरकारी संस्थामा काम गरे। पढाइसँगै विभिन्न संस्थामा काम गरेर उनले अनुभव बटुले। स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै आफ्नै गाउँमा फर्किएर केही गर्नुपर्छ भन्ने सोच बनाएर गाउँ पनि पसे। तर गाउँको परिवेश उनले सोचेभन्दा फरक थियो। आफूले बोकेको जोस, जाँगर र सीपलाई आफ्नो ढंगले प्रयोग गर्ने वातावरण खोजिरहेका उर्विनलाई बिस्तारै फरक अनुभूति हुन थाल्यो। गाउँमै बसेर केही गरौँ भन्ने सोच र वास्तविक परिस्थितिबीच तालमेल मिलेन। एक दिन, दुई दिन गर्दै अन्ततः उनले देश नै छोड्ने निर्णय गरे।
फिनल्यान्ड जाने तयारी
भविष्य सुरक्षित गर्ने सजिलो विकल्पका रूपमा धेरै युवाले रोज्ने वैदेशिक रोजगारीको बाटो उर्विनले पनि रोजे। फिनल्यान्ड जाने तयारी सुरु गरे। आवश्यक कागजात तयार पारे। कन्सल्टेन्सीमा सबै कागजात बुझाए। अब भिसाको पर्खाइ मात्र बाँकी थियो। भिसा कुरिरहेको त्यो समय उनका लागि फुर्सदिलो थियो। त्यही बेला संयोगले उनको जीवनमा अर्को ढोका खुल्यो—मानव सेवा आश्रमको। काठमाडौंमा त्यसै बसिरहनुभन्दा केही समय काम गरौँ भन्ने सोच बनाए। गैरसरकारी संस्था भएकाले तलब पनि राम्रै होला भन्ने सामान्य अनुमान थियो। त्यसैले मानव सेवा आश्रममा स्वास्थ्यकर्मीको आवश्यकता रहेको थाहा पाएपछि उनी आश्रम पुगे। तर पहिलोपटक आश्रम प्रवेश गर्दा उनले देखेको दृश्यले उनलाई झस्कायो। कोही कारणबिनै यताउता हिँडिरहेका थिए। कोही टेलिभिजन हेरिरहेका थिए। कोही कराइरहेका थिए। कोही हाँस्दै अरूलाई गाली गरिरहेका थिए। कोही आफ्नै हात टोकेर बसिरहेका थिए।
सामान्य जीवनबाट आएका उर्विनका लागि त्यो संसार बिल्कुलै नयाँ थियो। उनी अन्तर्वार्ता दिएर आश्रममा काम गर्ने कि नगर्ने भन्ने दोधारमा परे। अन्ततः केही समयका लागि भए पनि काम गरौँ भन्ने निर्णय गरे। ‘टाइम पास पनि हुने र अरूको सेवा गर्दा धर्म पनि हुने’ सोचले उनी मासिक १० हजार रुपैयाँमा काम गर्न तयार भए। तर उनलाई कहाँ थाहा थियो—यो काम केही महिनाको होइन, उनको जीवनकै गन्तव्य बन्नेछ।

‘टाइम पास’ गर्न पुगेका उर्विनको जीवन बदलियो
मानव सेवा आश्रमले परिवारको साथ नपाएका वा विभिन्न कारणले सडकपेटी तथा सार्वजनिक स्थलमा अत्यन्त कष्टपूर्ण जीवन बिताइरहेका मानिसहरूको उद्धार गर्दै आश्रय दिने रहेछ। स्वास्थ्यकर्मी भएकाले उर्विनको जिम्मेवारी पनि कम थिएन। आश्रममा रहेका मानिसलाई आवश्यकता अनुसार औषधि खुवाउने, स्वास्थ्य जाँच गर्ने, अस्पताल लैजानुपर्ने अवस्थामा अस्पताल पुर्याउने र नर्सले गर्नुपर्ने स्वास्थ्यसम्बन्धी काम उनी सम्हाल्थे।
यसअघि उर्विनको जीवन धेरै सहज थियो। घुमफिर र पुस्तक पढ्नमा समय बिताउने उनी जीवनका कठोर पक्षसँग त्यति नजिक थिएनन्। तर आश्रममा काम थालेपछि उनले जीवनलाई नजिकबाट देख्न थाले—त्यो जीवन, जसमा सडकको धुलो थियो, रोग थियो, पीडा थियो, बेवास्ता थियो र सबैभन्दा ठूलो कुरा, आफ्ना भन्ने कोही थिएनन्। आश्रममा काम थालेको करिब ७–१० दिनमै भएको एउटा उद्धारले उनको सोच नै बदलिदियो।
सुरुमा केही समयका लागि आश्रममा आएका उर्विनले ८ वर्ष बिताइसकेका छन् । अझै पनि उनी यही यात्रामा छन्। यस यात्रामा उनले सयौँ मानिसका पीडा देखेका छन्। कसैले परिवार गुमाएका छन्, कसैले परिवारबाटै उपेक्षा पाएका छन्। कोही मानसिक समस्याका कारण सडकमा पुगेका छन्। कोही रोगले थलिएर आफन्तविहीन भएका छन्। उनीहरूका लागि उर्विनजस्ता मानिसहरू नै परिवार बनेका छन्। उनको दिनचर्या सहज छैन। कहिले सडकबाट उद्धार, कहिले अस्पताल, कहिले औषधि, कहिले घाउको ड्रेसिङ, कहिले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई सम्हाल्ने काम। तर उनी थाकेको देखिँदैनन् ।
पहिलो उद्धार : ‘राम बा’सँग जोडिएको सम्बन्ध
काठमाडौं दरबार स्क्वायर र कालिमाटीबीच पर्ने ताहाचल हुँदै बग्ने विष्णुमती नदी किनारमा एउटा ओछ्यान लगाइएको थियो। वरिपरि फोहोर थियो। झिँगा भन्किरहेका थिए। असह्य दुर्गन्ध फैलिएको थियो। त्यहीँ करिब ५० वर्षका एक पुरुष अत्यन्त दयनीय अवस्थामा सुतिरहेका थिए। शरीर पहेँलो थियो। लगातार खोकीरहेका थिए। हेर्दा जन्डिस भएको जस्तो देखिन्थ्यो। क्षयरोगको आशंका पनि हुन्थ्यो। उर्विनका लागि त्यो पहिलो उद्धार थियो। डराउँदै उनलाई गाडीमा राखेर अस्पताल पुर्याए। अस्पतालले केही उपचारपछि डिस्चार्ज गरिदियो। तर उनी आफैँ उठ्न–बस्न सक्ने अवस्थामा थिएनन्। त्यसपछि उनलाई आश्रम ल्याइयो।
सरसफाइका क्रममा कपडा खोल्दा उर्विनले देखेको दृश्य झनै पीडादायी थियो। उनको शरीरभरि मौरीको घारमा मौरी भएझैँ जुम्रा थिए।राम्ररी सरसफाइ गरियो। भोलिपल्ट पुनः वीर अस्पतालको ओपीडीमा पुर्याइयो। विभिन्न परीक्षण गरिए। चिकित्सकले क्यान्सरको आशंका गरे। उर्विनलाई नरमाइलो लाग्यो। थप परीक्षणका लागि रगत दिनुपर्ने भयो। औषधि लिएर उनी आश्रम फर्किए। त्यसपछि सुरु भयो उनको अर्को जिम्मेवारी—औषधिसँगै माया र पोषण दिने। आफ्नै हातले पोसिलो खानेकुरा खुवाउन थाले। नियमित औषधि दिन थाले। स्वास्थ्यको ख्याल राखे। भाग्यले साथ दियो। अन्ततः उनलाई क्यान्सर वा क्षयरोग केही रहेनछ। बिस्तारै उनी निको हुन थाले।
उर्विनले उनलाई ‘राम बा’ भनेर बोलाउन थाले। र, राम बा पनि उर्विनलाई आफ्नो जीवनमा नयाँ सुरुवात गराउने मानिसका रूपमा हेर्न थाले। उर्विन सम्झन्छन्, राम बा उनलाई भन्ने गर्थे—“जन्म नदिए पनि नयाँ जीवन दिने भगवान।” यो शब्दले उर्विनलाई गहिरोसँग छोयो। उनी भन्छन्, “राम बाले त्यसो भन्दा मलाई धेरै खुसी लाग्थ्यो।” सायद त्यही क्षणदेखि उर्विनले महसुस गरे—मानव सेवा पैसा कमाउने जागिर मात्र होइन, कसैको जीवनमा आशा बन्ने अवसर पनि रहेछ।

दोस्रो उद्धार : ६ महिनाकी पेमा
राम बाको उपचार चलिरहेकै बेला आश्रमले ६ महिनाकी बच्चीसहित एक मनोरोगी महिलाको उद्धार गर्यो। महिलालाई चिकित्सकको सल्लाहअनुसार औषधि दिन थालियो। उपचारसँगै उनको व्यवहारमा केही परिवर्तन आउन थाल्यो। तर बच्चीको अवस्था झनै चुनौतीपूर्ण थियो। उनकी छोरीको नाम थियो—पेमा । आमाको मानसिक अवस्था कमजोर भएकाले पेमाको हेरचाह गर्ने जिम्मेवारी पनि आश्रमकै काँधमा आयो । राति पेमा रुन्थिन्। उनलाई लिटो, बिस्कुटलगायत खानेकुरा खुवाउनुपर्थ्यो। कतिपय रात उर्विनले उनलाई बोकेरै बिताउनुपर्थ्यो। दिनमा पनि उर्विनले नबोक्दा पेमा रुन्थिन्। “कहिलेकाहीँ झर्को पनि लाग्थ्यो,” उर्विन सम्झन्छन्, “तर झर्को मानेर पनि के गर्नु? बच्चा त निर्दोष थियो।” पेमा बोकेरै उनले आश्रमका अरू काम पनि गरे। बिस्तारै पेमासँगको सम्बन्ध गहिरिँदै गयो। आश्रमप्रतिको माया पनि बढ्दै गयो।
तेस्रो उद्धार : घाउबाट किरा झरिरहेका व्यक्ति
त्यसपछि काभ्रेको पाँचखालबाट करिब ३० वर्षका एक मानसिक स्वास्थ्य समस्या भएका पुरुषको उद्धार गरियो। उनको पाखुरामा ठूलो घाउ थियो। घाउबाट किराहरू झरिरहेका थिए। अत्यन्तै दुर्गन्धित अवस्था थियो। उर्विनले ड्रेसिङ गर्न खोज्दा अवस्था गम्भीर देखियो। उनलाई अस्पताल लैजानुपर्ने भयो।
भोलिपल्ट वीर अस्पतालको ट्रमा सेन्टर पुर्याइयो। घाउबाट लगातार किरा झरिरहेका थिए। दुर्गन्ध यति धेरै थियो कि नजिक जान पनि कठिन थियो। तर उर्विन पछि हटेनन्। उनी स्वास्थ्यकर्मी मात्र थिएनन्। उनी त्यसबेला ती व्यक्तिका लागि परिवार थिए, आफन्त थिए र सहारा थिए। यस्ता एकपछि अर्को उद्धारका घटनाले उर्विनको जीवनलाई विस्तारै बदल्दै लगे। फिनल्यान्ड जाने सपना बोकेर भिसाको प्रतीक्षामा बसेका उर्विन अब आफ्नो जीवनको अर्को देश खोजिरहेका थिए—मानवताको देश।
८ वर्षको यात्रा, सेवा नै जीवन
सुरुमा केही समयका लागि आश्रममा आएका उर्विनले ८ वर्ष बिताइसकेका छन् । अझै पनि उनी यही यात्रामा छन्। यस यात्रामा उनले सयौँ मानिसका पीडा देखेका छन्। कसैले परिवार गुमाएका छन्, कसैले परिवारबाटै उपेक्षा पाएका छन्। कोही मानसिक समस्याका कारण सडकमा पुगेका छन्। कोही रोगले थलिएर आफन्तविहीन भएका छन्। उनीहरूका लागि उर्विन जस्ता मानिसहरू नै परिवार बनेका छन्। उनको दिनचर्या सहज छैन। कहिले सडकबाट उद्धार, कहिले अस्पताल, कहिले औषधि, कहिले घाउको ड्रेसिङ, कहिले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई सम्हाल्ने काम। तर उनी थाकेको देखिँदैनन् ।
अहिले बाढीपीडितको सेवामा
भदौ १० गते आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा अहिले पनि उर्विनको सेवा जारी छ। भदौ १२ गते नुवाकोट पुगेका उनी विभिन्न होल्डिङ सेन्टरमा पुगेर बाढी प्रभावितलाई खाना खुवाउने, स्वास्थ्य जाँच गर्ने र मनोसामाजिक परामर्श दिने काममा सक्रिय छन्। प्राकृतिक विपत्तिले घर, सम्पत्ति र आफन्त गुमाएका मानिसहरूको पीडाबीच उनी स्वास्थ्यकर्मीको भूमिकामा मात्र छैनन्। उनी पीडितका कुरा सुन्छन्, उनीहरूको मन बुझ्छन् र सकेको सहयोग गर्छन्। कहिले औषधि बोकेर दौडिन्छन्, कहिले खाना बोकेर पुग्छन्। कहिले बिरामीको नाडी जाँच्छन्, कहिले पीडितको मनोबल बढाउँछन्। उनका लागि सेवा कुनै निश्चित कार्यालय समयभित्र सीमित छैन।
जीवनको नयाँ परिभाषा
उर्विनले पनि अन्य युवाजस्तै राम्रो जीवनको सपना देखेका थिए। विदेश जाने तयारी गरेका थिए । फिनल्यान्ड उनको गन्तव्य बन्ने लगभग निश्चित थियो। तर एउटा संयोगले उनको जीवनको बाटो बदलिदियो । यदि त्यो दिन मानव सेवा आश्रममा स्वास्थ्यकर्मी आवश्यक नभएको भए? यदि उनी अन्तर्वार्तापछि फर्केर कहिल्यै आश्रम नआएका भए? यदि पहिलो उद्धारका क्रममा विष्णुमती किनारमा भेटिएका ती ‘राम बा’सँग उनको भेट नभएको भए?

सायद उर्विनको जीवन अर्कै बाटोमा हुन्थ्यो। तर अहिले उनी भन्छन्—मानिसको जीवनमा कमाइ मात्र सबैथोक होइन रहेछ। कसैको जीवनमा आशा बन्न सक्नु, कसैलाई मृत्युको मुखबाट फर्काउन सक्नु, कसैको आँसु पुछ्न सक्नु र कसैलाई ‘तिमी एक्लो छैनौ’ भन्ने अनुभूति दिलाउन सक्नु पनि जीवनको ठूलो उपलब्धि रहेछ। उनका उमेरका धेरै युवा भविष्य सुरक्षित गर्न विदेशको बाटो रोजिरहेका बेला उर्विनले भने मानव सेवाको बाटो रोजेका छन्। उनले ठूलो घर बनाएका छैनन् होला। महँगो गाडी नचढेका होलान्। विदेश घुम्ने सपना पूरा गरेका छैनन् होला । तर उनले धेरै मानिसको जीवनमा आशाको घर बनाएका छन्। उनको बैंक खातामा कति रकम छ, त्यो महत्त्वपूर्ण नहुन सक्छ। तर उनले बचाएका, सम्हालेका र सेवा गरेका मानिसहरूको मनमा उनको नाम कति गहिरो गरी बसेको छ—सायद त्यो नै उनको वास्तविक सम्पत्ति हो। उर्विनको कथा केवल एक स्वास्थ्यकर्मीको कथा होइन। यो आफ्नो सुखलाई केही समय थाँती राखेर अरूको जीवनमा उज्यालो बाँड्न सकिन्छ भन्ने प्रमाण हो।
आज उनी नुवाकोटका बाढीपीडितका बीचमा छन्। भोलि कहाँ पुग्ने हुन्, उनलाई नै थाहा छैन । तर एउटा कुरा निश्चित छ—जहाँ पीडा हुनेछ, जहाँ सहाराविहीन मानिस भेटिनेछन् र जहाँ मानवीय सेवाको आवश्यकता हुनेछ, त्यहाँ उर्विनजस्ता हातहरू पुगिरहनेछन्। फिनल्यान्ड जाने सपना अधुरो रह्यो होला, तर उनले रोजेको मानवताको यात्रा भने अझै जारी छ। सायद यही हो—जीवनको नयाँ परिभाषा ।-कालाेटाेपी डटकम
प्रतिक्रिया