काठमाडाैं । देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जानकारी दिएको छ। यसअघि कात्तिक १६ गतेसम्म १ कराेड ८१ लाख ६८ हजार २३० जना मतदाता रहेकाेमा नयाँ मतदाताकाे संख्या जाेड्न बाँकी छ ।
सोमबार सिंहदरबारमा आसन्न प्रतिनिधि सभा निर्वाचनसम्बन्धी आयोजित सर्वपक्षीय छलफलमा आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो।
हाल प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १ सय १४ राजनीतिक दल दर्ता भइसकेका छन्। गत २०७९ सालको निर्वाचनमा भने ८७ दलले मात्र सहभागिता जनाएका थिए।दलहरूको संख्या उल्लेखनीयरूपमा बढेकाले यसपटक निर्वाचनमा प्रतिस्पर्धा अझ तीव्र हुने अनुमान आयोगले गरेको छ ।
निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री आयोगले पहिचान गरिसकेको छ। तीमध्ये ३७ प्रकारका सामग्री जिल्लास्तरबाटै खरिद गर्ने र बाँकी १४ प्रकारका सामग्री निर्वाचन आयोगले केन्द्रीय रूपमा खरिद गरी उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

प्रवक्ता भट्टराईका अनुसार पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टेपलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर र कैंचीजस्ता सामग्रीहरू आवश्यकता अनुसार मात्र खरिद गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।
प्रतिक्रिया