धुलिखेल । यतिबेला देशभर चुनावी राैनक छाएकाे छ । कसले जित्ला, कति भाेट ल्याउला भन्ने आँकलन बढ्दाे छ । यसैबीचमा हामीले याे पटक काभ्रे क्षेत्रनम्बर २ बाट राप्रपाका तर्फबाट उम्मेदवार बन्नु भएका रञ्जिब श्रेष्ठसँग चुनाव केन्द्रीत कुराकानी गरेका छाैँ । प्रस्तुत छ उहाँसँग गरिएकाे कुराकानीकाे सम्पादित अंशः
चुनाव आउन लागेको छ, कस्तो छ नागरिक को अपेक्षा, के पाउनु भयो हजुरले ?
चुनाव नजिकिँदै गर्दा नागरिकका अपेक्षा सुशासन, इमानदार नेतृत्व, रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा केन्द्रित छन् । जनताले विकास र स्थायित्व चाहेका छन् । भ्रष्टाचार, बेरोजगारी र मूल्यवृद्धि अझै समाधान हुन सकेका छैन भनेर कराउँछन् । त्यसैले नागरिकको मनस्थिती आशा र निराशाको बीचमा छ, र यो चुनावले वास्तविक परिवर्तन ल्याओस् भन्ने चाहना बलियो छ ।
तर भोट हाल्न पुरानै पारा देखाए भने त्यो त सम्भव नहोला नि ?
त्यही पुरानो पाराले भोट हाल्यो भने त्यो सम्भव छैन । जबसम्म जनता ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर परिवर्तनका अगाडी बढदैन, त्यहि कथा र अनि त्यहि ब्यथा दोहोरीरहन्छ । हाम्रो राजनितिले जनताको सोच्न सक्ने क्षमता धेरै हदसम्म कमजोर बनाएको छ । जनताको सोच्ने र प्रश्न गर्ने क्षमता खोसेको छ । यही सबैभन्दा ठूलो समस्या हो । अनुहार नयाँ होइन, बिचार पुरानो भएपनि केही हुनेवाला छैन । विकास ढिला हुन सक्छ, तर बौद्धिक विकास नहुनु घातक हुन्छ । चेतना बिना हामी स्वतन्त्र भएर पनि गुलाम बन्छौँ । भोट जनताको शक्ति हो । नेपाल त्यो दिन जित्छ, जुन दिन सचेत भोटर जन्मिन्छन् । त्यसका लागि हाम्रो शिक्षा बलियो, व्यवहारिक र चेतनामूलक हुनुपर्छ ।
काभ्रे-२ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन्, आफ्नाे स्थान कतिकाे सुरक्षित मान्नु भएकाे छ ?
म यसलाई प्रतिस्पर्धा भन्दा पनि जनमतको कसीमा हेर्छु। आफ्नो स्थान सुरक्षित छ कि छैन भन्ने फैसला जनताले मतदानमार्फत गर्नुहुन्छ। राप्रपाले उठाएका एजेन्डा, मेरो विगतको भूमिका, नैतिक आचरण र काभ्रे–२ का जनतासँगको निरन्तर सम्बन्धप्रति म विश्वस्त छु। अन्तिम निर्णय जनताको विवेकमै भर पर्छ।
चुनावी नतिजा त जनताकै हातमा छ तर जनताका अपेक्षा, समस्या र गुनासा त धेरै नै छन् । कसरी पूरा गर्ने साेचमा हुनुहुन्छ ? यदि भाेलि चुनावमा जित हाेला नहाेला, जे भए पनि नागरिक त यहिँ छन् नि ।
म राजनीतिलाई पदको लागि होइन, जनताको सेवाको माध्यम ठान्छु। भोलि जितेँ भने प्राथमिकतामा राखेर समस्याको समाधान गर्नेछु । यदि जितिनँ भने पनि जनताको आवाज र माग सधैं साथमा राख्नेछु। मेरो बिचारमा नेताले विकास र सहि बिचार दुबै जनतालाई दिनुपर्छ । जिते दुबै गरुँला, नजिते कम्तीमा सहि बिचार त दिन सकिन्छ, जुन मैले गरिराखेको छु ।
कुराकानीका लागि समय दिनुभयाे धन्यवाद ।
मलाइ पनि आफ्ना कुरा नागरिकसामू पुर्याउने माैका दिनुभयाे । तपाईंलाई पनि धन्यवाद ।
प्रतिक्रिया