• २०८३ असार ३१ | Wed, 15 Jul 2026

भूकम्पपछि विद्यालय पुनर्निर्माणमा सहयाेग गरेका गुणराजलाई खानीखोलामा भव्य स्वागत

भूकम्पपछि विद्यालय पुनर्निर्माणमा सहयाेग गरेका गुणराजलाई खानीखोलामा भव्य स्वागत

काभ्रे । खानीखोला गाउँपालिकाको वडा नं ७, मिल्चेका अधिकांश विद्यालय २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएका थिए । स्थानीय विद्यार्थी, शिक्षक, अभिभावक कसरी पढाइ सुचारु गर्ने भन्ने अन्यौलमा थिए । त्यहीबेला विद्यालय पुनर्निर्माणको योजना र बजेटसहित आशा बनेर पुगेका थिए, नाङशाल एशोसिएसन नेपालका अध्यक्ष गुणराज मुक्तान ।

भूकम्पपछि पुनर्निर्माणको योजना र बजेट लिएर पुगेका गुणराज मुक्तान आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसबाट काभ्रे क्षेत्रनम्बर १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार भएर मिल्चे पुग्दा स्थानीयले भव्य स्वागत गरे । सो क्षेत्रका प्रदेश सभा सदस्यसमेत रहेका कांग्रेस जिल्ला सभापति तीर्थ लामा, नाङशालका पूर्वअध्यक्षसमेत रहेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामासहित पुगेका उनलाई स्थानीयले स्वागत मात्रै गरेनन्, भूकम्पपछि पुनर्निर्माणमा सघाए जस्तै आफ्नो प्रतिनिधी बनेर यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणमा सघाउन अनुरोध गर्दै जिताउने प्रतिबद्धतासमेत जनाए ।

शिक्षा क्षेत्रमा लामो समय काम गरेका गुणराज अध्यक्ष रहेको संस्थाले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई एवं भूकम्पपछिको पुनर्निर्माणमा काम गरेको छ । मुक्तानले नै नेतृत्व गरेको संस्थाले सो वडामा क्षतिग्रस्त भएका ८ विद्यालयमा पुनर्निर्माण गरेको छ । वडा नं ७ मिल्चेस्थित जनहित माध्यमिक विद्यालय, सिता आधारभूत विद्यालय, जनचेतना आधारभूत विद्यालय, गणेश आधारभूत विद्यालय, ज्वालादेवी आधारभूत विद्यालय, बुद्ध माध्यमिक विद्यालय र रक्त आधारभूत विद्यालय पुनर्निर्माण भएको छ । भौतिक पूर्वाधारका अलावा ती विद्यालयमा बाल विकास केन्द्रका लागि आवश्यक सम्पूर्ण सामान र स्टेशनरीहरुका साथै शिक्षकहरुलाई तालिम र विद्यार्थीहरुलाई छात्रवृत्तीसमेत प्रदान गरिएको छ ।

जनहितमा कक्षाकोठा र अस्थायी सिकाइ केन्द्र, सितामा २ कोठे भवन र अस्थायी सिकाइ केन्द्र, जनचेतनामा २ कोठे भवन / अस्थायी सिकाइ केन्द्र, सरस्वतीमा २ कोठे भवन / अस्थायी सिकाइ केन्द्र, गणेशमा २ कोठे भवन / अस्थायी सिकाइ केन्द्र, ज्वालादेवीमा २ कोठे भवन र अस्थायी सिकाइ केन्द्र, रक्तमा २ कोठे भवन, अस्थायी सिकाइ केन्द्र तथा बुद्धमा ४ कोठे भवन र अस्थायी सिकाइ केन्द्र निर्माण भएका छन् ।

नाङशालले सञ्चालन गरेको कार्यक्रमले ती विद्यालयका २ हजार ४ सय ८९ विद्यार्थी, १ हजार ७१ अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षक, अभिभावक संघका ७ सय १६ जना, २ सय ४२ जना शिक्षक, बाल संरक्षण समितिका ४० जनासमेत लाभान्वित भएका छन् ।

भूकम्पपछि विद्यालय पुनर्निर्माण र शिक्षामा सघाएका गुणराजलाई प्रतिनिधी सभा सदस्य निर्वाचनमा सघाउने प्रतिबद्धता मिल्चेबासीले गरेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १९, सोमबार ०४:२७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP