• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नेपाल पुलिस स्कुल साँगाको ४२ औं स्थापना दिवस सम्पन्न

नेपाल पुलिस स्कुल साँगाको ४२ औं स्थापना दिवस सम्पन्न

काभ्रेपलाञ्चोक । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना कार्कीको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४२औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।

साे अवसरमा संघकी अध्यक्ष कार्कीले विद्यालयको मुखपत्र ‘दीपिका २०८२’ को विमोचन गर्नुका साथै विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरू, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उहाँले विद्यार्थीहरूबाट प्रदर्शित विभिन्न क्रियाकलापहरूको अवलोकनसमेत गर्नुभयो ।

कार्यक्रममा संघकी अध्यक्ष कार्कीले विद्यालय कुनै पनि राष्ट्रको भविष्य निर्माण गर्ने पवित्र थलो भएको तथा शिक्षा व्यक्तिको व्यक्तित्व विकास, अनुशासन, नेतृत्व क्षमता तथा नैतिक मूल्य मान्यताको आधारसमेत भएको बताउँदै नेपाल पुलिस स्कुल साँगाले विगत ४२ वर्षदेखि गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक शिक्षाको माध्यमबाट सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले आगामी दिनहरूमा स्कुलको अझ उन्नती, प्रगती तथा निरन्तर सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल पुलिस स्कुल साँगाका उपप्राचार्य भरत सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक, ट्रयाक एण्ड फिल्ड ईभेन्ट्स तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

साे अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् अभिभावक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १२, मंगलवार १२:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP