काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने ५५ वर्षीया मिना घिमिरेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
मिनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
काठमाडौं, सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने कैलाली घोडाघोडी नगरपालिका-१ घर भएका २३ वर्षीय तपेन्द्र बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमा फेक आईडी बनाई पीडित महिलाको तस्विर सँगसँगै चरित्र हत्या गर्ने तवरबाट अपमानजनक तथा अमर्यादित कन्टेन्ट निर्माण गरी पोष्ट गर्नुका साथै अपरिचित व्यक्तिका अश्लिल क्रियाकलापका भिडियो सामाग्रीहरूमा समेत पीडित महिलाको नाम राखी विभिन्न पोष्ट गरी दुःख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलाली, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१० दमौरा बस्ने ३३ वर्षीय दुर्गाबहादुर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको छ ।
सार्वजनिक स्थानमा महिला माथि अभद्र व्यवहार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । सार्वजनिक स्थानमा महिलामाथि अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने सोही महानगरपालिका-७ चावहिल घर भएका ४३ वर्षीय कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कुमारले पीडितलाई गाली गलौज गरी अपशब्दसमेत प्रयोग गरेको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
स्रोत नखुलेको नगदसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठाबाट स्रोत नखुलेको नगद १० लाख रूपैयाँ सहित सोही ठाउँ बस्ने चीन हुवान घर भएका ५३ वर्षीय TAN XIANG लाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अवैधरूपमा हुण्डी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
सर्लाही, लालबन्दी नगरपालिका-१६ परवानीपुरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ४३ वर्षीय सन्तोष केसी समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८४ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ स्वर्गद्वारी टोलस्थित पसल संचालन गरी बस्ने गढवा गाउँपालिका-८ कोईलाबास घर भएका ३५ वर्षीय अतिकुर रहमान फारूकीको पसलमा जुवातास खेलिरहेको अवस्थामा अतिकुरसमेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ६० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया