काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जसले गर्दा देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । साथै गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का पानी परिरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भाग तथा गण्डकी प्रदेशको पहाडी भागको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया