काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दासहित सुनसरी गढी गाउँपालिका-१ घर भएका ५० वर्षीय कमलनारायण विश्वासलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट नेपाली ११ लाख रूपैयाँ, अमेरिकी डलर १४ हजार ८ सय ५०, जापानिज येन ४१ हजार, स्विस फ्रैङ्क १ हजार फेला परेकाे थियाे ।
यस्तै मलेसियन रिङ्गिट २३ हजार ६ सय ३२, श्रीलङ्कन रूपी ७ हजार ७ सय ७०, पाकिस्तानी रूपी ३ हजार ५ सय ४० र ओमानी रियाल २ हजार ९ सय ७० फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-३ घर भएका २० वर्षीय एनोस तामाङ, २६ वर्षीय हेमन्त तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट ककनी गाउँपालिका-२ घर भएका १९ वर्षीय लाक्पा तामाङ र काठमाडौं महानगरपालिका-१२ नरदेवी बस्ने भारत पश्चिम बंगाल प्रान्त हुग्ली घर भएका ५० वर्षीय शुकुमार पात्र रहेका छन् ।
तारकेश्वर नगरपालिका-८ जरङ्खुमा गत ११ गते स्कुटरमा आएका अपरिचित व्यक्तिहरूले एक जना पीडित महिलाको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट नगद ७५ हजार ८ सय रूपयाँ र स्कुटर १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया