काभ्रे । धुलिखेल अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रदान गर्दै आएको आकस्मिक (इमर्जेन्सी) बाहेकका सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि अस्थायीरूपमा स्थगित गरेको जनाएको छ । यसअघि अस्पतालले असार १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका उपचार सेवा सुचारू हुने जनाएकाे थियाे ।
अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डद्वारा लागू गरिएको सुविधा प्याकेज (तेस्रो संशोधन, २०८३) सम्बन्धमा पुनरावलोकन तथा परिमार्जनको प्रक्रिया अगाडि बढिरहेको जनाएको छ । सोहीअनुसार अस्पतालको व्यवस्थापन (सिस्टम म्यापिङ), प्राविधिक तयारी तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित कार्य सम्पन्न गर्न थप समय आवश्यक परेकाले स्वास्थ्य बीमा सेवासम्बन्धी पूर्व प्रकाशित कार्यतालिकामा संशोधन गरिएको अस्पतालले स्पष्ट पारेको छ ।
सूचनाअनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका बहिरङ्ग, अन्तरङ्ग तथा औषधि सेवाहरू केही समयका लागि स्थगित गरिएको छ । यद्यपि, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको आकस्मिक (इमर्जेन्सी) सेवा भने यथावत् सञ्चालनमा रहने अस्पतालले जनाएको छ । अस्पतालले अन्य सबै नियमित सेवाहरू भने साविकबमोजिम निरन्तर सञ्चालन भइरहने जानकारी दिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई गुणस्तरीय, प्रभावकारी तथा दिगोरूपमा सञ्चालन गर्ने उद्देश्यले अस्पताल प्रशासन स्वास्थ्य बीमा बोर्डसँग निरन्तर समन्वयमा रहेको उल्लेख गर्दै यस अवधिमा सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति अस्पतालले क्षमायाचना गरेको छ । साथै सेवाग्राहीहरूको धैर्यता, सहयोग र समझदारीप्रति धन्यवाद व्यक्त गरेको छ ।
अस्पताल प्रशासनद्वारा जारी सूचनामा अर्को सूचना प्रकाशित नभएसम्म स्वास्थ्य बीमा अन्तर्गत आकस्मिकबाहेकका सेवा बन्द रहने जनाइएको छ।
प्रतिक्रिया