बेथानचोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको समन्वयमा नेपाली सेना र राष्ट्रिय सेवा दल (एनसीसी) को आयोजनामा वडा नं. ३ स्थित कृष्ण गोपाल माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्थानीय बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो । दुर्गम क्षेत्रका नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार शिविरबाट ६ सय १ जना स्थानीयवासी प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । शिविरमा विभिन्न स्वास्थ्य समस्याको जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो ।
अध्यक्ष अधिकारीले स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने उद्देश्यअनुरूप यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । स्थानीयवासीले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गर्दै यस्ता शिविर नियमित सञ्चालन गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया