सिन्धुपाल्चोक । जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको आयोजनामा तथा सानाकिसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, काठमाडौं शाखाको सहजीकरणमा संघमा आबद्ध सदस्य संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाहरूमा विद्यमान अवसर, चुनौती तथा समस्याका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै सहकारी संस्थाहरूले समस्या समाधानका लागि अपनाएका असल अभ्यासहरूको समीक्षा गर्दै अनुभव आदान–प्रदान गरिएको सहभागीहरूले बताएका छन् ।
अन्तरक्रियामा सानाकिसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, काठमाडौं शाखाका प्रमुख केशवराज शर्मा, विष्णु कालाखेती लगायतका अतिथिहरूले सदस्य संस्थाहरूबाट प्राप्त जिज्ञासाहरूको सम्बोधन गर्दै सहकारी क्षेत्रको सुदृढीकरण, संस्थागत सुशासन, कृषि उत्पादन तथा सदस्य सेवाको प्रभावकारिता अभिवृद्धिका विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रमले सदस्य संस्थाहरूबीच आपसी सहकार्य, अनुभव आदान–प्रदान तथा सहकारी क्षेत्रका साझा समस्या र समाधानका उपायहरूबारे साझा बुझाइ विकास गर्न सहयोग पुगेको सहभागीहरूको भनाइ रहेको छ ।
सहकारी अभियन्ता मित्रलाल चौँलागाइँका अनुसार कार्यक्रमबाट सदस्य संस्थाहरूलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यसम्पादन गर्न प्रेरणा मिलेको छ ।
प्रतिक्रिया