• २०८३ असार ३० | Tue, 14 Jul 2026

खेलकुद विकासमा थप लगानी गर्ने मेलम्चीका नगरप्रमुख तामाङको प्रतिबद्धता

खेलकुद विकासमा थप लगानी गर्ने मेलम्चीका नगरप्रमुख तामाङको प्रतिबद्धता

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा वडा नं. २ को आयोजनामा विभिन्न उमेर समूहका महिला र पुरुषहरुको दौड प्रतियोगिता उद्घाटन तथा समापन समारोह नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा समेत खेलकुद पूर्वाधार, प्रतिभा विकास तथा विभिन्न प्रतियोगिताका लागि थप लगानी गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले खेलकुदले युवालाई स्वस्थ, अनुशासित, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले नगरपालिकाले यस क्षेत्रमा निरन्तर लगानी गर्दै आएको बताउनुभयो ।

विशेष अतिथि उमा प्रधानलगायत जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न प्रतियोगितामा महिला तथा पुरुष दुवै समूहबीच निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक दौड भएको थियो । १६–२५ वर्ष उमेर समूह (पुरुष) तर्फ सबिन तामाङ प्रथम, अनुप तामाङ द्वितीय, रोशन तामाङ तृतीय तथा रुपक दुलाल सान्त्वना स्थान हासिल गर्न सफल भए । महिलातर्फ नबिना बजगाईं प्रथम, मनिषा तामाङ द्वितीय, रोजनी पौडेल तृतीय तथा सान्त्वना पुरस्कार अन्य प्रतिस्पर्धीले प्राप्त गरेका थिए ।

त्यसैगरी, २६–४० वर्ष उमेर समूह (पुरुष) तर्फ बलराम खतिवडा प्रथम, दीपक दुलाल द्वितीय, राजु तामाङ तृतीय तथा विनोद तामाङ सान्त्वना स्थान हासिल गर्न सफल भए । महिलातर्फ संगीता दुलाल प्रथम, सञ्चिता तामाङ द्वितीय, निर्मला तामाङ तृतीय तथा अनिसा सान्त्वना स्थान हासिल गर्न सफल भइन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः रु. २० हजार, रु. १५ हजार, रु. १० हजार र रु. ५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो । विजेता धावकहरूलाई नगर प्रमुख तामाङले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलाडी, युवायुवती तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद संस्कृतिको विकास, नयाँ प्रतिभाको पहिचान तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ३१, आईतवार १६:१०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP