पनौती । पनौती नगरपालिका वडा नं. ८ मा बालमैत्री स्थानीय शासनको दिगोपना सुनिश्चित गर्ने उद्देश्यसहित अनलाइन बाल यौन दुर्व्यवहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार आयोजित उक्त कार्यक्रम पनौती नगरपालिका वडा नं. ८ को आयोजनामा सम्पन्न भएको हो । यसको समन्वय सिविन नेपाल तथा सहकार्य सिद्धार्थ वनस्थली इन्स्टिच्युटले गरेको थियो । कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत बालबालिकाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सिविन नेपालका परियोजना व्यवस्थापक भगवती श्रेष्ठ तथा काउन्सेलर भगवती राईले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले अनलाइन माध्यमबाट हुने बाल यौन दुर्व्यवहारका विभिन्न स्वरूप, त्यसबाट बच्ने उपाय, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, शंकास्पद गतिविधिको पहिचान तथा आवश्यक परेमा उजुरी गर्ने प्रक्रियाबारे जानकारी दिनुभएको थियो ।
सहजीकरणका क्रममा बालबालिकाहरूलाई डिजिटल प्रविधिको प्रयोग गर्दा व्यक्तिगत गोपनीयताको संरक्षण, अपरिचित व्यक्तिसँगको अनलाइन सम्पर्कमा अपनाउनुपर्ने सावधानी तथा साइबर सुरक्षासम्बन्धी व्यवहारिक ज्ञानसमेत प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले जिज्ञासा राख्दै अनलाइन सुरक्षाबारे थप जानकारी हासिल गरेका थिए ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहजीकरण गर्नुहुने प्रशिक्षकद्वय, समन्वय गर्ने संस्था सिविन नेपाल, सहकार्य गर्ने सिद्धार्थ वनस्थली इन्स्टिच्युट तथा विद्यालय परिवारप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ । साथै कार्यक्रममा सहभागी सम्पूर्ण बालबालिकाहरूलाई समेत आभार प्रकट गरिएको छ ।
आयोजकका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले बालबालिकालाई अनलाइन माध्यमबाट हुन सक्ने हिंसा र दुर्व्यवहारबाट सुरक्षित रहन आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया