काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भागमा माैसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भाग, लुम्बिनी प्रदेशको हिमाली भाग साथै कोशी प्रदेशका तराई भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको पहाडी भाग र मधेस प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका तराई भागका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । अन्य हिमाली र पहाडी भाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया