काभ्रेपलाञ्चोक । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज लामाडोल देवीथुम्का सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमअन्तर्गत ६०० वटा टिमुरका बिरुवा रोपिएको छ । वन संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा डिभिजन वन कार्यालय काभ्रेका प्रमुख तथा कर्मचारी, सबडिभिजन वन कार्यालय खोपासीका प्रमुख तथा कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरू, भालेश्वर माध्यमिक विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। वृक्षारोपणसँगै सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिएकाले कार्यक्रम थप आकर्षक बनेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वन समितिका अध्यक्षले टिमुरको बिरुवा केवल एउटा रुख नभई भावी पुस्ताका लागि हरियाली, वातावरण संरक्षण र समृद्धिको प्रतीक भएको बताए । उनले सामुदायिक वनका सम्पूर्ण उपभोक्ताहरूलाई वन संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमा साझा जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरे ।
अध्यक्षले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै निकाय, जनप्रतिनिधि, कर्मचारी, विद्यालय परिवार, वन समितिका पदाधिकारी, सदस्य तथा सहभागीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र सुझावको अपेक्षा रहेको बताए । सामुदायिक वनको दीर्घकालीन संरक्षण, हरियाली विस्तार र वातावरणमैत्री समाज निर्माणतर्फ यो अभियानले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
प्रतिक्रिया