काठमाडौँ । काठमाडौँ महानगरपालिका-२९ डिल्लीबजार हाईटबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ४ किलो ७ सय २० ग्राम र नगद १ लाख २५ हजार ८ सय २५ रूपैयाँसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएका ५४ वर्षीय श्याम खत्री र काठमाडौं महानगरपालिका-२९ न्यूप्लाजा बस्ने काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४८ वर्षीय वसन्त थापा रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले श्यामको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ
भक्तपुर । सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइतेसिं स्याङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.०२-०६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटरसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको रकमसहित पक्राउ
मोरङ, विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकम ६ लाख ६५ हजार रूपैयाँसहित दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ४९ वर्षीय मिक्मार तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विमानस्थलमा खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अनलाईन ठगीमा संलग्न दुई जना पक्राउ
पर्सा । अनलाईन ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २० वर्षीय जस्मुदिन अन्सारी र पर्सा बहुदरमाई नगरपालिका-१ बस्ने २० वर्षीय बिशाल पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगंज महानगरपालिका-८ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले वीरगंज महानगरपालिका-१६ बस्ने बारा घर भएका ४९ वर्षीय शिव पुजन बैठाको घरमा डेरा गरी बस्ने रौतहट घर भएका पीडित हाल वैदेशिक रोजगारको सिलसिलामा युकेको लण्डनमा रहेकोमा निजको फोटो राखि फेक फेसबुक एकाउण्ट तथा म्यासेन्जर आईडी बनाई शिवपुजनलाई झुक्यानमा पारी नगद २ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनीहरू उपर ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
बझाङ, जयपृथ्वी नगरपालिका-१० चैनपुर खुल्लामञ्च बस्ने ३२ वर्षीय प्रकाश विकको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रकाशसमेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ९० रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया