काठमाडाैं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, देउराली बलदेउस्थित जोखिमयुक्त बस्ती स्थानान्तरणसम्बन्धी भौगर्भिक अध्ययन प्रतिवेदनमाथि सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा मंगलबार छलफल सम्पन्न भएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा सम्पन्न छलफलमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मीमबहादुर वाइवा, वडा नं. ९ का अध्यक्ष जनम तामाङ, प्राधिकरणका विभिन्न महाशाखा प्रमुख, खानी तथा भूगर्भ विभाग, त्रिभुवन विश्वविद्यालय, विपद् अनुसन्धान केन्द्रलगायतका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहेको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार छलफलमा जोखिमयुक्त बस्तीको अवस्थाबारे तयार गरिएको भौगर्भिक अध्ययन प्रतिवेदनमाथि विस्तृत समीक्षा गरिएको थियो ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार देउराली बलदेउका २७ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेका छन् । ती घरपरिवारलाई सोही वडा अन्तर्गतको रजबास क्षेत्रमा स्थानान्तरण गर्ने प्रस्तावबारे छलफल भएको उहाँले जानकारी दिनुभयो ।

रोशी गाउँपालिका २०८१ साल असोजमा आएको विनाशकारी बाढीबाट काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी प्रभावित स्थानीय तह हो । बाढीले जनधनसँगै पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि जोखिमयुक्त बस्तीहरूको दीर्घकालीन व्यवस्थापनका लागि स्थानान्तरण प्रक्रिया अघि बढाइएको हो ।
प्रतिक्रिया