धुलिखेल, काभ्रे । धुलिखेल अस्पतालले स्त्रीरोग विभागअन्तर्गत पेल्भिक फ्लोरसम्बन्धी रोगहरूको निदान, उपचार तथा पुनःस्थापना (रिह्याबिलिटेसन) का लागि समर्पित बहुविषयगत पेल्भिक फ्लोर सेन्टर सञ्चालनमा ल्याएको छ ।
अष्ट्रेलियाका प्रख्यात स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा. डा. रेमण्ड पिटर हड्सन, धुलिखेल अस्पतालका संस्थापक प्रा. डा. रामकण्ठ माकजु श्रेष्ठ तथा नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन एन्ड गाइनोकोलोजिस्ट्स (NESOG) का अध्यक्ष प्रा. डा. पदमराज पन्तले संयुक्त रूपमा आयोजित समारोहमा सेन्टरको उद्घाटन गर्नुभएको हो ।
पेल्भिक फ्लोर भन्नाले महिलाको पुठ्ठाभित्र तथा स्त्री जननेन्द्रिय वरिपरिका मांसपेशीहरूको समूहलाई जनाउँछ । उमेर बढ्दै जाँदा वा अन्य विभिन्न कारणले यी मांसपेशी कमजोर वा खुकुलो हुँदा पाठेघर (आङ) खस्ने, पिसाब वा दिसा चुहिने, पाद फुस्किने, तल्लो पेटमा दीर्घकालीन दुखाइ हुने तथा यौन स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिन सक्छन् ।
यस्ता समस्याको प्रभावकारी निदान, रोकथाम तथा उपचारका लागि उक्त सेन्टर स्थापना गरिएको अस्पतालले जनाएको छ । सेन्टरमा युरोगाइनोकोलोजिस्ट, कोलोरेक्टल सर्जन, युरोलोजिस्ट, फिजियोथेरापिस्ट, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूको बहुविषयगत टोलीबाट सेवा प्रदान गरिनेछ । अस्पतालले पेल्भिक फ्लोरसम्बन्धी समस्या भएका सबै व्यक्तिलाई समयमै स्वास्थ्य परीक्षण तथा उपचारका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया