• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

रसुवाका बाढीपीडितलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १२ लाख सहयोग

रसुवाका बाढीपीडितलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १२ लाख सहयोग

​सिन्धुपाल्चोक । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोबाट प्रभावित भएकाहरूका लागि ​सिन्धुपाल्चोककाे पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा भदौ १५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पीडितहरूको पुनःस्थापना र राहतका लागि ऐक्यबद्धतामूलक निर्णयहरू गरेको छ ।

​गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी-पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको प्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

​आन्तरिक आय र स्रोत-साधन सीमित रहेता पनि मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने भावनालाई आत्मसात् गर्दै गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, गाउँपालिका तथा वडा कार्यालयका कर्मचारी, स्वास्थ्यकर्मी एवं सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको सुरू तलब स्केलको ३ दिन बराबरको रकम कट्टा गरी राहतमा योगदान गरिने भएको छ ।

​यसका साथै गाउँपालिकाको तर्फबाट थप आर्थिक सहायता स्वरूप मुख्य प्रभावित एवं सीमाना जोडिएको छिमेकी गोसाइँकुण्ड गाउँपालिकालाई ५ लाख, उत्तरगया गाउँपालिकालाई ५ लाख र आमाछोदिङ्मो गाउँपालिकालाई २ लाख गरी जम्मा १२ लाख रुपैयाँ एकीकृत आर्थिक सहायता रकम रसुवाका बाढी पीडितहरूको पुनःस्थापना र राहतका लागि तत्काल उपलब्ध गराइनेछ ।

​गाउँपालिका अध्यक्ष टासी लामाले विपत्तिले भौतिक संरचना ढाल्न सके पनि मानवीय भावना र एकतालाई ढाल्न नसक्ने बताउँदै यो सङ्कटको घडीमा सम्पूर्ण स्थानीय तह, सङ्घ-संस्था र नागरिकहरूलाई एकै ठाउँमा उभिएर पीडितहरूको पुनःस्थापनामा जुट्न हार्दिक आह्वान गर्नुभएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १७, बुधबार ०८:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP