चौंरीदेउराली । काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिकामा नागरिक तथा सुरक्षा निकायबीच समन्वय, सहकार्य र जनगुनासाको सुनुवाइ गर्ने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट प्रवाह हुने सेवा सम्बन्धमा सहजीकरण, समन्वय तथा सार्वजनिक सुनुवाइ कार्यक्रम तथा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत “शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि नागरिक सुनुवाइ” कार्यक्रम सम्पन्न भएकाे हाे ।
जेठ २० गते बुधबार चौंरीदेउराली गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलागाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी तथा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शान्ति सुरक्षा, सार्वजनिक सेवा प्रवाह, समुदाय–प्रहरी साझेदारी तथा स्थानीय तहसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना सुझाव, गुनासा र जिज्ञासाहरू राखेका थिए ।
कार्यक्रमका वक्ताहरूले नागरिकबाट प्राप्त सुझाव तथा गुनासालाई गम्भीरतापूर्वक ग्रहण गर्दै शान्ति सुरक्षाको अवस्था थप सुदृढ बनाउने, समुदाय–प्रहरी सम्बन्धलाई अझ प्रभावकारी बनाउने तथा सेवाप्रवाहलाई नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्थानीय तह, प्रशासन र सुरक्षा निकायबीच प्रत्यक्ष संवादको माध्यम बनेको उक्त कार्यक्रमले नागरिकका समस्या र अपेक्षाबारे स्पष्ट जानकारी प्राप्त गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन् । कार्यक्रम आपसी सहकार्य र समन्वयलाई थप मजबुत बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको थियो ।
प्रतिक्रिया