• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

भोटेकोशी बाढीपीडितका लागि जिल्ला सहकारी संघ काभ्रेद्वारा १ लाख ५९ हजार ५ सय सहयोग

भोटेकोशी बाढीपीडितका लागि जिल्ला सहकारी संघ काभ्रेद्वारा १ लाख ५९ हजार ५ सय सहयोग

काभ्रे । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकले १ लाख ५९ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा अकस्मात् आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै जिल्ला सहकारी संघ काभ्रेले दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सहयोगका लागि साे रकम दिइने निर्णय गरेको हो ।

संघको सञ्चालक समितिको निर्णयअनुसार सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा संघको संयुक्त योगदानबाट रु. १,५९,५०० (एक लाख उनान्साठी हजार पाँच सय रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संघले जनाएको छ । संघले विपद्को समयमा प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नु सम्पूर्ण सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको जनाएको छ ।

जिल्ला सहकारी संघले काभ्रेपलाञ्चोकमा रहेका सम्पूर्ण सहकारी संघ/संस्थाहरूलाई समेत आफ्नो आर्थिक क्षमता र सामर्थ्यअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न अपिल गरेको छ । सहकारी क्षेत्रको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै विपद्मा परेका नागरिकको पीडामा सक्दो सहयोग गर्न संघले सबै सहकारी संघ/संस्थालाई आग्रह गरेको हो ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठद्वारा भदौ १७ गते जारी गरिएको अपिलमा सहकारी क्षेत्रको सहयोग, सद्भाव र सहभागिताले विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १७, बुधबार १७:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP