• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

भोटेकोशी बाढीपीडितका लागि धुलिखेल कल्याणकारी सेवा समाजको २ लाख २१ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि धुलिखेल कल्याणकारी सेवा समाजको २ लाख २१ हजार सहयोग

धुलिखेल । नेपाल–चीन सीमा रसुवागढी क्षेत्रमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित तथा विपद्मा परेका नागरिकको सहयोगार्थ धुलिखेल कल्याणकारी सेवा समाजले रु. २ लाख २१ हजार ६ सय ४३ आर्थिक सहयोग उपलब्ध गराएको छ । समाजका सदस्य तथा शुभेच्छुकहरूबाट संकलित रकममध्ये रु. १ लाख १३ हजार ३ सय ३० भदौ १६ गते र रु. १ लाख ८ हजार ३ सय १३ भदौ १८ गते गरी कुल रु. २ लाख २१ हजार ६ सय ४३ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंक खाता नम्बर ११३०१००००३७६२००१ मा धुलिखेल शाखामार्फत जम्मा गरिएको समाजले जनाएको छ । रकम पठाउँदा रु. १०० एक्सप्रेस चार्जसमेत तिरिएको जनाइएको छ ।

बाढी तथा विपद्का कारण रसुवागढी, भोटेकोशी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागतरूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजले जनाएको छ ।

आर्थिक सहयोग गर्नेमा चुडामणि पराजुली, सुन्दर प्रधान, ममता लामा, ईश्वरी महत, संगीता तामाङ, खड्गबहादुर श्रेष्ठ, प्रल्हादप्रसाद ढकाल, अरुणाकुमारी बराल, रामप्रसाद उपाध्याय तिमल्सिना, राधादेवी तिमल्सिना, सरस्वती कुक, भगवती तिमल्सिना, नानी (तृष्णा) तिमल्सिना, कल्पना तिमल्सिना, सन्तोष तिमल्सिना, हरिप्रसाद तिमल्सिना, सरिता कार्की, सुकुमान तामाङलगायत रहेका छन् । समाजका अनुसार सदस्य तथा शुभेच्छुकहरूले आफ्नो क्षमता र इच्छाअनुसार विपद्मा परेका नागरिकको सहयोगका लागि आर्थिक योगदान गरेका हुन् । संकलित रकमलाई संस्थाको खातामा जम्मा गरी समाजकै चेकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो ।

सदस्यको हितसँगै सामाजिक उत्तरदायित्वमा सक्रिय
अन्तर वडा तथा अन्तर जिल्लाबाट धुलिखेलमा बसोबास गर्ने ७५ घरपरिवारहरू मिलेर स्थापना गरिएको धुलिखेल कल्याणकारी सेवा समाजले आफ्नो स्थापनाको १० वर्ष पूरा गरिसकेको छ । यो संस्थामा ४१० जना सदस्य रहको संस्थाका निवर्तमान अध्यक्ष गायत्रीरमण घिमिरेले जानकारी गराउनुभयो । समाजले मुख्यतः आफ्ना सदस्यहरूको हित, आपसी सहयोग, सामाजिक एकता र कल्याणका क्षेत्रमा काम गर्दै आएको छ ।

संस्थाले सदस्यहरूको हितमा केन्द्रित रहेर विभिन्न सामाजिक तथा मानवीय गतिविधि सञ्चालन गर्दै आए पनि विपद्का समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ । भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संघसंस्था तथा समुदायबाट सहयोग जुटिरहेका बेला धुलिखेल कल्याणकारी सेवा समाजको यो सहयोगले पनि विपद्मा परेका नागरिकलाई राहत पुर्‍याउने अभियानमा योगदान पुग्ने अपेक्षा गरिएको छ । समाजले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक कार्यमा सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २१, आईतवार २०:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP