काभ्रे । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका सदस्यहरूले अब धुलिखेल अस्पतालमा एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन् ।
धुलिखेल अस्पतालले बाढीबाट सिर्जित मानवीय तथा भौतिक क्षतिबाट प्रभावित परिवारको दीर्घकालीन स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै प्रभावित परिवारका सदस्यहरूलाई अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू एक वर्षसम्म निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । अस्पतालले भदौ २१ गते जारी गरेको प्रेस विज्ञप्तिमा बाढी प्रभावित समुदायलाई राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा अस्पताल सुरुदेखि नै निरन्तर संलग्न हुँदै आएको जनाएको छ ।
अस्पतालका अनुसार बाढीबाट प्रभावित परिवारको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा लाग्ने आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । निःशुल्क सेवा प्राप्त गर्ने प्रक्रिया तथा आवश्यक विवरणहरू छिट्टै सार्वजनिक गरिने अस्पतालले जनाएको छ । त्यसैगरी, अस्पतालले आफ्नो क्षमताअनुसार बाढी प्रभावित समुदायमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन तथा सहकार्य र सहयोग गर्ने तयारीसमेत गरिरहेको जनाएको छ ।
विपद्को कठिन घडीमा बाढी प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै धुलिखेल अस्पतालले प्रभावित समुदायको स्वास्थ्य, पुनःस्थापना तथा पुनर्निर्माणका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । धुलिखेल अस्पतालको यो निर्णयले बाढीका कारण आर्थिक तथा भौतिक रूपमा प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया