काभ्रे । ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बेथानचोक–२ स्थित सदस्य सेवा केन्द्रको स्थानान्तरण तथा जनप्रतिनिधिसँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उद्वव सापकोटाको सभापतित्व तथा बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बेथानचोक गाउँपालिका–२ र ५ का वडाध्यक्षसहित जनप्रतिनिधि, संस्थाको सञ्चालक समिति, सेवा केन्द्र सञ्चालन उपसमिति, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष तारा राना तिमल्सिनाले सदस्य केन्द्रित सेवा, उद्यमशीलता प्रवर्द्धन तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न संस्थालाई सुझाव दिनुभयो । उहाँले सहकारी सुशासन कायम गर्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निर्देशन तथा नियामकीय व्यवस्थाको पालना गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले सदस्यलाई सहज वित्तीय सेवा उपलब्ध गराउँदै सीप, उद्यम र स्वरोजगारमार्फत आर्थिक आत्मनिर्भरता बढाउनेतर्फ सहकारीले भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले संस्थालाई आवश्यक सहयोग गर्न वडा कार्यालय सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले सहकारीले सदस्यलाई केवल बचत तथा ऋण सेवामा सीमित नराखी सीप, उद्यम र स्वरोजगारसँग जोडेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । स्थानीय स्रोत, साधन र सम्भावनाको पहिचान गरी कृषि, पशुपालन, घरेलु तथा साना उद्यमलगायत उत्पादनमूलक क्षेत्रमा सहकारीमार्फत सहजीकरण गर्ने संस्थाको योजना रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति उद्वव सापकोटाले नेपालको सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका चुनौती, सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा प्रभावकारी नियमनका विषयमा धारणा राख्नुभयो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठनसँगै सहकारी क्षेत्रको नियमनलाई थप व्यवस्थित बनाउने क्रममा संस्थाले नियामकीय व्यवस्था, सुशासन र पारदर्शितालाई आत्मसात् गर्दै सदस्यको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।
सेवा केन्द्र संयोजक चन्द्रप्रसाद तिमल्सिनाको सञ्चालन तथा रामप्रसाद तिमल्सिनाको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सेवा केन्द्र स्थानान्तरणसँगै बेथानचोक क्षेत्रका सदस्यलाई सहज, छिटो, प्रभावकारी र आवश्यकतामा आधारित वित्तीय सेवा उपलब्ध गराउने संस्थाको उद्देश्य रहेको जानकारी गराइएको थियो । कार्यक्रमले सहकारी, स्थानीय सरकार, जनप्रतिनिधि र सदस्यबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै स्थानीय आर्थिक विकासमा सहकार्यको नयाँ आधार निर्माण गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया