बनेपा । नेपाली साहित्यमा युवा कवि भनेर चिनिने गजल परम्पराका प्रवर्तक मोतीराम भट्टको १६१औँ जयन्तीको अवसरमा शब्दयात्रा प्रकाशनले शुक्रबार समस्यापूर्ति कविता गोष्ठी आयोजना गरेको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार हरि मञ्जुश्रीले मोतीराम भट्टको साहित्यिक योगदान र नेपाली साहित्यमा उहाँले पुर्याउनु भएको महत्त्वपूर्ण भूमिकाका बारेमा जानकारी गराएपछि गोष्ठी प्रारम्भ भएको थियो ।
गोष्ठीमा ‘बाढीबाट विपत्ति भो’ शीर्षकमा विभिन्न कविहरूले समस्यापूर्ति गर्दै कविता वाचन गरेका थिए । समस्यापूर्ति कविता वाचन गर्नेहरूमा ढुण्डिराज पोखरेल, सरस्वती चिमोरिया, प्रा. डा. हिरण्यलाल ज्ञवाली, उत्तम भेटवाल, शिव बन्जारा, श्रीकृष्ण पाण्डे, आल्फिफोहेन फाक्लुप्पा, आर. सी. भट्टराई, कालिका त्रिपाठी पन्त, नवराज दाहाल ‘उत्साही’, नोलाराज भण्डारी र शारदा पौडेल रहेका थिए ।
त्यसैगरी केदारनाथ तिमल्सिना र मुरहरि रायमाझी ‘हरि’ले भने समस्यापूर्ति नगरी कविता वाचन गरेका थिए । कविता वाचन गर्ने प्रत्येक कविलाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले कविता विधासँग सम्बन्धित एक–एक वटा पुस्तक उपहारस्वरूप प्रदान गरेका थिए । कवि केदारनाथ तिमल्सिनाको सभापतित्वमा सम्पन्न गोष्ठीको उद्घोषण कालिका त्रिपाठी पन्तले गरेकी थिइन् भने शिव बन्जाराले गोष्ठीको समुद्घाटन र आर. सी. भट्टराईले समापन गरेका थिए । कार्यक्रममा सङ्गीता केसी र भुवन पाण्डेले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
काभ्रेपलाञ्चोक जिल्लामा पहिलोपटक समस्यापूर्ति कवितागोष्ठी आयोजना गरिएको भन्दै सहभागी कविहरूले शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिएका थिए । साहित्यिक सिर्जनाका नयाँ अभ्यास र परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो ।
बनेपामा रहेको शब्दयात्रा प्रकाशनले साहित्य, भाषा र संस्कृतिको प्रवद्र्धनका लागि विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । प्रकाशनले साहित्यिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण राष्ट्रिय विपत्तिको अवस्था सिर्जना भएपछि बाढीपीडितको सहयोगार्थ प्रकाशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोगसमेत गरेको थियो । साहित्यिक कार्यक्रमसँगै सामाजिक सेवामा समेत सक्रिय रहँदै आएको शब्दयात्राको यो पहलले मोतीराम भट्टको स्मरणलाई सिर्जनात्मक रूपमा निरन्तरता दिएको सहभागीहरूको भनाइ थियो ।
प्रतिक्रिया