ज्ञानमणि नेपाल कालोटोपी
बनेपा । वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार मोहन दुवालको ७७औँ जन्मोत्सव विशेष कार्यक्रमका साथ मनाइएको छ।
जनमत वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका दुवालको जन्मोत्सवको अवसरमा उहाँको व्यक्तित्व, कृतित्व तथा साहित्यिक योगदानलाई समेटेर तयार पारिएका तीन वटा पुस्तकसमेत सार्वजनिक गरिएको थियो।
कार्यक्रमको अध्यक्षता राजु सरकारले गर्नुभएको थियो । सार्वजनिक गरिएका कृतिहरूमाथि साहित्यकारहरू कृष्णकुमार वैद्य, रामसुन्दर देउजा तथा सूर्यप्रसाद लाकोजुले समीक्षा प्रस्तुत गर्दै मोहन दुवालको साहित्यिक यात्रा, सिर्जनात्मक योगदान र नेपाली साहित्यमा उहाँले पुर्याएको प्रभावबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा वक्ताहरूले मोहन दुवालले नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको प्रशंसा गर्दै उहाँलाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए। शुभकामना मन्तव्य दिनेहरूमा साहित्यकार तथा प्राध्यापक डा. रामप्रसाद ज्ञवाली, गायक रामहरि न्यौपाने, दियशरत्न शाक्य, हरिभक्त भोछिभोया, राजेन्द्र श्रेष्ठ, डा. कृष्ण सुवेदी तथा मणिराज श्रेष्ठलगायत रहनुभएको थियो।
कार्यक्रममा सहभागीहरूले मोहन दुवाललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै मायाको चिनोसमेत प्रदान गरेका थिए। कार्यक्रमको अन्त्यमा संस्थाकी सचिव सृजना दुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रमले वरिष्ठ साहित्यकार मोहन दुवालप्रति सम्मान प्रकट गर्नुका साथै उहाँको साहित्यिक योगदानलाई स्मरण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
प्रतिक्रिया