• २०८३ भाद्र ३१ | Wed, 16 Sep 2026

पनौतीमा कृषि उत्पादन प्रवर्द्धन कार्यक्रम, किसानसम्म डिजिटल पहुँच पुर्याउने लक्ष्य





पनौतीमा कृषि उत्पादन प्रवर्द्धन कार्यक्रम, किसानसम्म डिजिटल पहुँच पुर्याउने लक्ष्य





काभ्रे । कृषि उत्पादन वृद्धि, स्थानीय कृषि उपजको प्रवर्द्धन तथा उपभोक्तालाई गुणस्तरीय कृषि उत्पादनबारे सचेत गराउने उद्देश्यले काभ्रेको पनौतीमा उपभोक्ता सचेतना तथा कृषि उत्पादन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय कृषि कम्पनी नेपाल र आरकेसीएन फुड बैंक लिमिटेडको आयोजना तथा सामुदायिक साकोसको समन्वयमा बुधबार आयोजित कार्यक्रममा ६८ जना कृषकको सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष केशव अच्छामीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सामुदायिक साकोसका अध्यक्ष मुकुन्द शर्माज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा संस्थाका सल्लाहकार प्रकाश बञ्जारालगायत कृषि तथा सहकारी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कृषि विज्ञ कुशल आचार्य र पवनकुमार सिंहले कृषि उत्पादन प्रवर्द्धन, उत्पादनको गुणस्तर, बजार व्यवस्थापन तथा उपभोक्ता सचेतनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले कृषकलाई आधुनिक तथा व्यावसायिक कृषि प्रणाली अवलम्बन गर्न, उत्पादनमा गुणस्तर कायम गर्न तथा उत्पादित कृषि उपजलाई व्यवस्थित बजारसँग जोड्न आवश्यक विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा कृषकले उत्पादन गरेका कृषि उपजले उचित मूल्य प्राप्त गर्न उत्पादनदेखि बजारीकरणसम्म प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो । किसान, कृषि कम्पनी, सहकारी तथा उपभोक्ताबीचको सहकार्यलाई प्रभावकारी बनाउन सके स्थानीय कृषि उत्पादनको बजार विस्तार गर्न सकिने सहभागीहरूको धारणा थियो ।

प्रमुख अतिथि मुकुन्द शर्माले कृषि क्षेत्रको विकासका लागि किसानलाई उत्पादनसँगै बजारको सुनिश्चितता आवश्यक रहेको बताउनुभयो। स्थानीय उत्पादनको प्रयोग तथा प्रवर्द्धन बढाउन सके कृषकको आम्दानी वृद्धि हुनुका साथै कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका सभापति केशव अच्छामीले कृषकलाई आवश्यक ज्ञान, प्रविधि, बजार तथा उपभोक्तासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कृषि उत्पादनलाई बढावा दिन किसानका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउँदै उत्पादन र बजारबीचको दूरी घटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा सहभागी कृषकहरूले कृषि उत्पादन, बजार व्यवस्थापन तथा आधुनिक कृषि प्रणालीसम्बन्धी नयाँ जानकारी प्राप्त भएको बताउनुभएको थियो । उहाँहरूले यस्ता सचेतनामूलक तथा उत्पादन प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।

किसानको खेतदेखि उपभोक्ताको थालसम्म डिजिटल पहुँच


कार्यक्रममा किसानले उत्पादन गरेका कृषि उपजलाई खेतबाटै संकलन गरी खाद्य बैंकमार्फत प्रशोधन तथा बजारीकरण गर्दै उपभोक्ताको घरसम्म पुर्‍याउने अवधारणासमेत प्रस्तुत गरिएको थियो ।
‘खेतदेखि थालसम्मको कृषि यात्रा’ अवधारणाअन्तर्गत किसानको खेतबाट कृषि उपज संकलन गर्ने, संकलित उत्पादनलाई आरकेसीएनएल फुड बैंकमा पुर्‍याउने तथा त्यसलाई अर्डर र बिक्री प्रक्रियासँग जोड्ने व्यवस्था अघि सारिएको छ । यसबाट किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपजलाई व्यवस्थित रूपमा बजारसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी उपभोक्ताका लागि खाता अनबोर्डिङ तथा डिजिटल प्रोफाइल तयार गर्ने व्यवस्था पनि अवधारणामा समेटिएको छ । डिजिटल माध्यमको प्रयोगमार्फत ग्राहकको विवरण व्यवस्थापन गर्नुका साथै कृषि तथा खाद्य सामग्रीको अर्डर प्रक्रियालाई सहज बनाउने लक्ष्य राखिएको छ ।
उपभोक्ताले अर्डर गरेका कृषि तथा खाद्य सामग्री ‘हेलो सर्भिस नेपाल’ मार्फत घरमै डेलिभरी गर्ने व्यवस्था पनि प्रस्तुत गरिएको थियो । यसले उपभोक्तालाई बजार तथा पसलसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै आवश्यक खाद्य सामग्री घरमै उपलब्ध गराउने अवधारणालाई अघि बढाएको छ ।

समग्रमा किसानको खेतमा उत्पादनदेखि संकलन, खाद्य बैंक, डिजिटल अर्डर र घरदैलो डेलिभरी हुँदै उपभोक्ताको थालसम्म कृषि उपज पुर्‍याउने यो अवधारणाले उत्पादन र उपभोगबीचको दूरी घटाउने प्रयास गरेको छ । प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा किसानले आफ्नो उत्पादनका लागि व्यवस्थित बजार पाउनुका साथै उपभोक्ताले सहज रूपमा गुणस्तरीय स्थानीय कृषि उपज प्राप्त गर्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमले कृषकलाई कृषि उत्पादनमा प्रोत्साहन गर्नुका साथै स्थानीय कृषि उपजको प्रवर्द्धन र उपभोक्ता सचेतना अभिवृद्धिमा समेत योगदान पुर्‍याउने विश्वास आयोजकले लिएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ३१, बुधबार १७:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP