• २०८३ भाद्र ३१ | Wed, 16 Sep 2026

बनेपाका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा भोटेकोसी बाढीपीडितका लागि ८२ हजार सहयोग

बनेपाका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा भोटेकोसी बाढीपीडितका लागि ८२ हजार सहयोग

काभ्रे । रसुवा–भोटेकोसी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बनेपा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

बनेपा नगरपालिकाका वडा नं. १ देखि १४ सम्म कार्यरत ८२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूले प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले कुल ८२ हजार रुपैयाँ राहत कोषमा जम्मा गर्नुभएको हो ।

विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले स्वयंसेविकाहरूले आफ्नो व्यक्तिगत योगदानबाट रकम संकलन गरी राहत कोषमा जम्मा गर्नुभएको जनाइएको छ । समाजको स्वास्थ्य तथा जनचेतनाका क्षेत्रमा निरन्तर सेवा पुर्‍याउँदै आउनुभएका महिला स्वास्थ्य स्वयंसेविकाहरूले विपद्का बेला आर्थिक सहयोगमार्फत मानवीय सेवाको उदाहरण प्रस्तुत गर्नुभएको छ ।

बाढीपहिरोका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको यस सहयोगले विपद्को समयमा समुदायस्तरबाट हुने सहयोग र सहकार्यको महत्वलाई समेत उजागर गरेको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूको यस पहलले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता प्रकट गर्नुका साथै सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना थप मजबुत बनाएको छ ।

यसैबीच, विपद्को कठिन घडीमा आफ्नोतर्फबाट सहयोग गर्दै मानवीय एकताको उदाहरण प्रस्तुत गर्नुहुने बनेपा नगरपालिकाका ८२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगरप्रमुख शान्तिरत्न शाक्यले धन्यवाद तथा सम्मान व्यक्त गर्नुभएकाे छ । उहाँहरूको सहयोगले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि थप सहयोग पुग्ने उहाँकाे विश्वास छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ३१, बुधबार १६:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP