काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ मित्रनगरस्थित रूकुमेली सिमुतु अनिषा गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय २० मिलिग्रामसहित काठमाडौं तार्केश्वर गोलढुङ्गा बस्ने पाँचथर घर भएका २३ वर्षीय रोवीट गुरूङ समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटलको ४०४ नम्बरको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-९ आरूबारीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ३० ट्याब्लेट र नगद २ लाख रूपैयाँसहित सोही नगरपालिका-२ बस्ने २७ वर्षीय निशान डंगोललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ राजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय २० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-६ स्यालडाँगी बस्ने ३३ वर्षीय मो. जाबिर आलमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-७ बिर्ताबजार बस्ने २८ वर्षीय अजय रिऋदेब समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-४ झापा चोक बस्ने २४ वर्षीय दिपेश राजबंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका-२ रातामाटा बस्ने ३८ वर्षीय तेजबहादुर दमाई र दाङ तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने २७ वर्षीय देबेन्द्रसिंह मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
कपिलवस्तु, बाणगंगा नगरपालिका-१ क्वाटर चोक बस्ने ३२ वर्षीय सुमन चौधरीको हत्या गरेको अभियोगमा सोही नगरपालिका-१ बैरिया बस्ने ४५ वर्षीय उदय अधिकारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उदयले खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएका सुमनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दाङ, आफ्नै श्रीमती २७ वर्षीया कमला वलीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१९ दोघरे बस्ने ३३ वर्षीय गोपाल वलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । गोपालले कुटपिट गर्दा कमला गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी कमलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ बस्ने इलाम, इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
मनोजले आइसल्याण्ड पठाइदिन्छु भनी १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार २ जना प्रतिवादीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक घर भएका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने चितवन घर भएकी २८ वर्षीया सरिता गुनी रहेका छन् ।
उक्त मुद्दामा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।
प्रतिक्रिया