• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषध काराेबारः पनौतीका आकाश केसीसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागूऔषध काराेबारः पनौतीका आकाश केसीसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडाैँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२० भीमसेनस्थानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६५ ट्याब्लेटसहित काठमाडौँ डल्लु बस्ने नुवाकोट लिखु गाउँपालिका-३ घर भएका ३० वर्षीय विवेक सिंजाली मगरसमेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका-९ सिनामंगलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम २ सय २० ट्याब्लेटसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पनौती नगरपालिका-५ घर भएका २३ वर्षीय आकाश केसी र सर्लाही लालबन्दी नगरपालिका-२ घर भएका २४ वर्षीय विशाल प्रधान रहेका छन् । प्रहरी वृत गौशालासमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-८ बुद्धचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने धनगढी उपमहानगरपालिका-३ बिशालनगर घर भएकी २५ वर्षीया लक्ष्मी चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपहानगरपालिका-४ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ५ किलो ५ सय ७६ ग्रामसहित बझाङ सूर्मा गाउँपालिका-२ बस्ने ५० वर्षीय जलहरी बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय विकाश भुजेललाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ५० ट्याब्लेटसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देउराली धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, रामधुनी नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम र नगद २५ हजार रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-६ बस्ने १९ वर्षीय उदय मुखिया र सोही ठाउँ बस्ने १९ वर्षीय गणेशकुमार मुखिया रहेका छन् । प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.१-०४-००२ प २२४८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८४ ट्याब्लेटसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ भोलाँछे बस्ने ५० वर्षीय राजाराम मुलगुठी र चाँगुनारायण नगरपालिका-६ खरीपाटी बस्ने ३५ वर्षीय अभिषेक खड्का रहेका छन् । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा. ७८ प ३९४६ र बा. ५१ प १३४३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २९, मंगलवार ०९:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP