• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २१ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २१ जना पक्राउ

काठमाडौं। अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप २१ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ किलो ५० ग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी घर भएका ३५ वर्षीय अनिलकुमार पासवान र ४५ वर्षीय मोहमद हसन रैन रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोही महानगरपालिका-९ स्थित होटल श्रीयन्त्रको १०३ नम्बरको कोठाबाट मोहमदलाई नियन्त्रणमा लिएको तथा अनिल भागी फरार भएकोमा सोही महानगरपालिका-९ स्थित होटल शिवम् प्लाजाको पार्किङबाट नियन्त्रणमा लिने क्रममा उनले प्रहरी लक्षित प्रहार गरेपश्‍चात प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । घाइते भएका अनिलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०६ डिएम ७३४६ नम्बरको कारसमेत बरामद गरेको छ ।

धनकुटा, शहिदभूमि गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेटसहित सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय राकेश राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरीले प्र-१-०२-०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बाँके, खजुरा गाउँपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीय इस्ट्याक खाँ र ३१ वर्षीय करिम खाँ रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, गौरादह नगरपालिका-१ सितापुरीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र डिकोलिक १ सय ३५ ट्याब्लेटसहित सोही नगरपालिका-१ बस्ने २५ वर्षीय भवेश भण्डारीसमेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले मे.७ प १९५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने ३७ वर्षीय धनबहादुर राजवंशी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले धनबहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने २५ वर्षीय रघुबिर धामीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कंचनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ दासपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित सोही नगरपालिका-६ पूर्वेली टोल बस्ने २२ वर्षीय रनबहादुर खवाससमेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देही, रोहिणी गाउँपालिका-४ कोटहवाबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार १ सय एम्पुल, डाइजेपाम १ हजार १ सय एम्पुल र बुप्रेनोर्फिन १ हजार १ सय एम्पुलसहित सोही गाउँपालिका-२ खुरहुरिया बस्ने १९ वर्षीय बिशाल यादवसमेत ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले यूपि ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी चितवन, रत्ननगर नगरपालिका-१३ लौरीघोलबाट नियन्त्रित लागूऔषध एनारगन २ सय ४७ ट्याब्लेट र ट्रामाडोल ७३ ट्याब्लेटसहित सोही नगरपालिका-१३ बस्ने २४ वर्षीय सुकबिर स्याङतान समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाडीबाट खटिएको प्रहरीले ना.६२ प ९४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ७० मिलिग्रामसहित काभ्रे घर भएका ३३ वर्षीय मनिष तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । चितवन, भरतपर महानगरपालिका-१८ शान्तिटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेटसहित सोही ठाउँ बस्ने ३८ वर्षीय सुकमान तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ ईटौराबाटा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय थीरबहादुर चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २४, मंगलवार ०९:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP