सिन्धुपाल्चाेक । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सञ्चालनमा आएको ‘पाँचपोखरी कोशेली घर’को उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मन्त्री पौडेलले कृषि क्षेत्रको समग्र अवस्थाबारे चर्चा गर्दै उत्पादन वृद्धि, बजारीकरण र आधुनिकीकरणमा अझै चुनौती रहेको बताउनुभयो । उहाँले किसानहरूले भोगिरहेको रासायनिक मलको अभावप्रति प्रदेश सरकारको भूमिका सीमित रहेको स्पष्ट पार्दै संघीय तहबाट नै आपूर्ति व्यवस्थापन हुने भएकाले प्रदेशले प्रत्यक्ष समाधान गर्न कठिनाइ हुने बताउनुभयो । मल अभावको विषय संघीय व्यवस्थासँग जोडिएकाले प्रदेशले सहजीकरण र समन्वय गर्ने काम गरिरहेको बताउनुभयो ।
त्यससँगै उहाँले स्थानीय तह तथा किसानहरूलाई कृषि क्षेत्रमा आवश्यक योजना र कार्यक्रमका लागि स्पष्ट माग अघि सार्न आग्रह गर्नुभयो । कृषि क्षेत्र सुधारका लागि स्थानीय आवश्यकता पहिचान गरी योजनाबद्ध माग आए प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । पाँचपोखरीको भौगोलिक अवस्थाअनुसार मौसमी बाली, पशुपालन र पर्यटनसँग जोडिएको कृषि प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विशेष अतिथि तथा गाउँपालिका अध्यक्ष टासी लामाले ‘कोशेली घर’ स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि महत्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खाल्डेखोलामा दैनिकरूपमा अखाद्य वस्तुहरूको चेकजाँच गर्दै सुरक्षित उपभोग सुनिश्चित गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले स्थापना गरिएको सूचना केन्द्रमार्फत पाँचपोखरी क्षेत्रको पर्यटनसम्बन्धी विवरण, मार्गदर्शन र जानकारी उपलब्ध गराउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल, वडा नम्बर १ का अध्यक्ष आलोककुमार स्याङ्बो, विभिन्न राजनितिक दलका प्रतिनिधि सरोकारवाला निकाय तथा स्थानीयको उपस्थिती रहेको थियो । पाँचपोखरी कोशेली घर सञ्चालक समितिका अध्यक्ष रेशम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कर्मचारी कुमार बस्नेतले गर्नुभएको थियो ।
प्रतिक्रिया