काठमाडौँ । नक्कली गहना धितो राखी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४५ वर्षीया मीनाकुमारी सुनुवार, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका-१ घर भएका ३८ वर्षीय कालीदास धतानी र भक्तपुर नगरपलिका-८ बस्ने झापा अर्जुनधारा नगरपालिका-३ घर भएका २७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।
ललितपुरका एक सुनचाँदी व्यवसायीलाई मेरो आमा बिरामी हुनु भएकोले उपचारको लागि रकम आवश्यक परेको र सुन धितो राखी रकम माग गरी नक्कली बिल बिजक बनाई विश्वास दिलाई सुनको लेप लगाएको नक्कली सुन राखी ५ लाख ऋण लिई ठगी गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहनासमेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँचथर मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।
वैदेशिक रोजगारीमामा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई विभिन्न मितिमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भई ठगी गरेको मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि वैदेशिक रोजगार विभाग तहाचल काठमाडौं बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ
पर्सा, राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-३१ बस्ने ४२ वर्षीय प्रबिन्द्र साह गोढलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ६ महिना कैद सजाय र ३ करोड १२ लाख ६० हजार ८० रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।
प्रतिक्रिया