काठमाडौं । आज देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व विविध कार्यक्रमका साथ मनाइँदैछ । नेपाली कृषि संस्कृतिसँग गाँसिएको यस पर्वले किसानको श्रम, धान खेतीको महत्त्व र खाद्य सुरक्षाप्रति जनचेतना फैलाउने सन्देश बोकेको छ।
असार महिनाको मध्यतिर पर्ने यो दिन मनसुनसँगै धान रोपाइँको चटारो सुरु हुने भएकाले किसानहरू खेतमा रोपाइँ गर्दै हिलो खेल्ने, गीत गाउने र दही–चिउरा खाने परम्परा रहिआएको छ । असारको कडा श्रमबीच दही र चिउराले शरीरलाई ऊर्जा र शीतलता प्रदान गर्ने विश्वास पनि छ।
नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये कृषि एक हो भने धान देशको मुख्य खाद्यान्न बाली हो। लाखौँ नेपालीको जीविकोपार्जन धान खेतीसँग जोडिएको छ। त्यसैले राष्ट्रिय धान दिवसले किसानको सम्मान, कृषि उत्पादन वृद्धि र आत्मनिर्भर कृषिको आवश्यकता झन् उजागर गर्ने अवसर प्रदान गर्दछ।
देशका विभिन्न स्थानमा धान रोपाइँ महोत्सव, कृषि प्रदर्शनी, किसान सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्। यस अवसरमा कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइको विस्तार, उन्नत बीउको प्रयोग र उत्पादन वृद्धि गर्न सम्बन्धित निकायले जोड दिएका छन्।
परम्परा, संस्कृति र कृषिको सुन्दर संगमका रूपमा रहेको असार १५ ले किसानको पसिनाको सम्मान गर्दै सबैलाई स्वदेशी कृषि उत्पादनको संरक्षण र प्रवर्द्धनमा हातेमालो गर्न प्रेरित गरेको छ।
कालोटोपी डटकम परिवार सबै नेपालीमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको शुभकामना व्यक्त गर्दछ ।
प्रतिक्रिया