मण्डनदेउपुर (काभ्रे) । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडामा लिफ्ट सिंचाइ आयोजना पुनः अगाडि बढ्ने भएको छ । विगत तीन वर्षदेखिको निरन्तर प्रयासपछि वडा नं. ६, ७, ९, १० र १२ लाई समेटेर आयोजना कार्यान्वयनको तयारी अघि बढाइएको हो ।
मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालका अनुसार सिंचाइ विभागको एकीकृत नदी बेसिन कार्यक्रम अन्तर्गत यसअघि स्थापना गरिएका १८ वटा डिप बोरिङलाई उपयोग गर्दै लिफ्ट सिंचाइ आयोजना सञ्चालन गर्ने तयारी भइरहेको छ ।
यसैक्रममा मंगलबार वडा नं. १० का ज्वानेटार र जोगिटार तथा वडा नं. १२ का ठुल्डीटार र साण्डीटार क्षेत्रमा सम्बन्धित निकायका प्रतिनिधि, नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय समुदायसँग स्थलगत अनुगमन तथा छलफल गरिएको उहाँले जानकारी दिनुभयाे ।
उपप्रमुख नेपालका अनुसार अन्य स्थानहरूमा पनि आवश्यक प्रक्रिया पूरा गर्दै आयोजना क्रमिक रूपमा अगाडि बढाइनेछ । उहाँले वर्षौंदेखिको प्रयास अब परिणाममुखी चरणमा पुगेको उल्लेख गर्दै इन्द्रावती करिडोरमा लिफ्ट सिंचाइ विस्तार भएपछि कृषि उत्पादन वृद्धि हुनुका साथै स्थानीय कृषकको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयाे ।
इन्द्रावती करिडोरमा सिंचाइ पूर्वाधारको विकासले कृषिमा समृद्धिको आधार तयार गर्ने उहाँले बताउनुभयाे ।
प्रतिक्रिया