कालोटोपी डटकम
काठमाडौं । बाढी तथा प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा अलपत्र परेका यात्रुको स्थलमार्गबाट उद्धार गर्न काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवा सुरु गरेको छ । महानगरपालिकाले शुक्रबारदेखि एउटा सवारीसाधनमार्फत सुरु गरेको उद्धार तथा यातायात सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष गरी १९ जना यात्रुलाई काठमाडौं ल्याइएको जनाएको छ ।
अलपत्र यात्रुको संख्या तथा उद्धारको आवश्यकता बढ्दै गएपछि महानगरपालिकाले शनिबारदेखि सेवा विस्तार गर्दै दुई वटा सवारीसाधन सञ्चालनमा ल्याएको छ । दुईमध्ये एउटा यसअघि रसुवादेखि काठमाडौं यात्रु ओसारपसारमा प्रयोग हुँदै आएको ००६ ख ९३३९ नम्बरको बस हो । उक्त बसमा १९ जना यात्रु अट्ने क्षमता रहेको छ । त्यस्तै, महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले ०३० च ७३६४ नम्बरको अर्को सवारीसाधन उपलब्ध गराएको छ । उक्त सवारीसाधनमा १० जना यात्रु अट्ने क्षमता रहेको महानगरपालिकाले जनाएको छ ।
यात्रुको पहिचान र सुरक्षाका लागि नगर प्रहरी परिचालन
निःशुल्क उद्धार तथा यातायात सेवामा सञ्चालन गरिएका सवारीसाधन यात्रुले सहज रूपमा पहिचान गर्न सकून् भन्ने उद्देश्यले सवारीसाधनको अगाडि र पछाडि निःशुल्क सेवा उल्लेख गरिएको ब्यानर राखिएको छ । त्यसैगरी, यात्रुको सुरक्षा तथा व्यवस्थापनका लागि दुवै सवारीसाधनमा नगर प्रहरी परिचालन गरिएको छ । उद्धारका क्रममा यात्रुलाई आवश्यक सहयोग गर्ने तथा सवारीसाधनको व्यवस्थापन गर्ने जिम्मेवारी नगर प्रहरीलाई दिइएको महानगरपालिकाले जनाएको छ ।
विपद्का कारण सडक अवरुद्ध हुने, यातायातका साधन सञ्चालनमा कठिनाइ हुने तथा यात्रुहरू लामो समयसम्म अलपत्र पर्ने अवस्थालाई मध्यनजर गर्दै सुरु गरिएको यो सेवा आवश्यकताअनुसार थप विस्तार गर्ने महानगरपालिकाको योजना छ । महानगरपालिकाले यात्रुको चाप तथा उद्धारको आवश्यकता हेरेर आगामी दिनमा सवारीसाधनको संख्या बढाउँदै लैजाने जनाएको छ ।
विपद् उद्धारमा खटिएका जनशक्तिलाई महानगरको हौसला
उद्धार तथा निःशुल्क यातायात सेवामा खटिएका जनशक्तिलाई विपद् व्यवस्थापनमा थप उत्साह र प्रोत्साहन प्रदान गर्न काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नवीन मानन्धर तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा शनिबार सभागृहमा पुग्नुभएको थियो ।
उहाँहरूले विपद्को कठिन परिस्थितिमा यात्रुको उद्धार तथा व्यवस्थापनका लागि परिचालित जनशक्तिको कामको प्रशंसा गर्दै आवश्यकताअनुसार प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशनसमेत दिनुभएको महानगरपालिकाले जनाएको छ । बाढी तथा प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा अलपत्र परेका नागरिकलाई सुरक्षित रूपमा काठमाडौं ल्याउने कार्यलाई प्राथमिकता दिँदै महानगरपालिकाले सुरु गरेको निःशुल्क यातायात सेवाले विपद्का समयमा यात्रुहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया