भकुण्डेवेशी । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बिसकिलोस्थित बीपी राजमार्गमा सवारी चालक तथा सहचालकको लागुऔषध सेवनसम्बन्धी परीक्षण गरिएको छ ।
प्रहरी चौकी भकुण्डेवेशी, अस्थायी ट्राफिक प्रहरी पोष्ट भकुण्डेवेशी र मेथिनकोट अस्पतालको सहकार्यमा सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म राजमार्गमा आवतजावत गर्ने सवारीसाधनका चालक तथा सहचालकको लागुऔषध सेवन परीक्षण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार परीक्षणका क्रममा १६ वटा सवारीसाधनका चालक तथा सहचालकको जाँच गरिएको थियो । जसमध्ये १४ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भने दुई जना चालकको रिपोर्ट पोजेटिभ देखिएको प्रहरीले जनाएको छ ।
लागुऔषध सेवन परीक्षणमा पोजेटिभ देखिएका दुवै चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोक पठाइएको प्रहरीले जानकारी दिएको छ । सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले प्रहरीले राजमार्ग क्षेत्रमा यस्ता परीक्षण तथा निगरानीलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
प्रतिक्रिया