काभ्रे । मण्डनदेउपुर नगरपालिका–३ स्थित द्वारपालेश्वर माध्यमिक विद्यालयका २० जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति वितरण गरिएको छ । ईको हिमाल, नेपालको सहयोगमा आयोजित कार्यक्रममा छनोटमा परेका १५ जना विद्यार्थीलाई स्वआर्जित छात्रवृत्ति अन्तर्गत जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
स्वआर्जित छात्रवृत्ति सानो रकम बालबालिका तथा अभिभावकद्वारा परिचालन गरि बीउ पूँजीको रुपमा विद्यालयले परिचान गर्ने रकम हो । यदि यो रकमबाट किनेको कुनै चौपायाहरुको भवितब्य केही परेमा परिवारलाई आर्थिक भार नपरोस् भनेर ईको हिमालले बीमाको व्यवस्थासमेत गरेको छ । यसको परिचालन कसरी गर्न सकिन्छ भनेर अभिभावक तथा बालबालिकालाई व्यावसायी योजना कसरी बनाई लैजान सकिन्छ भनेर ईको हिमाल नेपालका कार्यक्रम अधिकृत धर्मराज पौडेलले अभिमुखीकरणसमेत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमराज विश्वकर्माले संस्थाले दुर्गम तथा आर्थिकरूपमा कमजोर विद्यार्थीहरूको शिक्षामा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारका तर्फबाट ईको हिमाल, नेपालप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले शिक्षा नै विकासको मूल आधार भएकाले यस्ता सहयोगले विद्यार्थीहरूको अध्ययनलाई थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै, विद्यालय, अभिभावक र सहयोगी संस्थाबीचको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण बजगाईंले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई अझ मिहेनतका साथ अध्ययन गरी प्राप्त सहयोगको सदुपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रम सफल बनाउन योगदान पुर्याउने ईको हिमाल, नेपालका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा उपस्थित सम्पूर्ण महानुभावप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
स्वआर्जित छात्रबृत्ति कार्यक्रमका संयोजक श्यामबहादुर तामाङले ईको हिमाल, नेपालको यस सहयोगले विद्यालयका आर्थिकरूपमा विपन्न तथा प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो ।
प्रतिक्रिया