काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि काभ्रेपलाञ्चोकका व्यवसायी राजन ढकालले १ लाख ७७ हजार ७७७ रुपैयाँ ७७ पैसा सहयोग गर्नुभएको छ । ढकालले बुधबार राष्ट्रिय वाणिज्य बैंकमा पुगेर प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गर्नुभएको हो । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि पीडितको सहयोगका लागि आफूले सकेको रकम प्रदान गरेको उहाँले बताउनुभयो ।
आपत्–विपद्को समयमा एकअर्कालाई सहयोग गर्नु मानवीय धर्म भएकाले आफूले आफ्नो क्षमताअनुसार सहयोग गरेको ढकालको भनाइ छ । उहाँले विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु सबैको सामाजिक तथा मानवीय दायित्व भएको बताउनुभयो । “जीवनमा जति कमाए पनि समस्यामा परेका मानिसलाई सहयोग गर्न सकिएन भने त्यसको अर्थ हुँदैन,” ढकालले भन्नुभयो । उहाँले विपद्बाट प्रभावित नागरिकको पीडामा मल्हम लगाउन सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत आग्रह गर्नुभएको छ ।
मण्डनदेउपुर नगरपालिका–४ का स्थायी बासिन्दा ढकाल लामो समयदेखि बनेपामा रहेर फर्निचरसम्बन्धी व्यवसाय गर्दै आउनुभएको छ । व्यवसायसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका क्षेत्रमा समेत आफ्नो तर्फबाट योगदान गर्दै आउनुभएका ढकालको यो सहयोगले विपद्बाट प्रभावित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रका नागरिकको जनजीवन प्रभावित बनाउनुका साथै ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएको छ । विपद्पछि विभिन्न व्यक्ति, व्यवसायी, संघसंस्था तथा स्थानीय तहबाट पीडितका लागि राहत तथा सहयोग जुटाउने क्रम जारी छ ।
प्रतिक्रिया