नुवाकोट । कान्छीमाया तामाङ फाउण्डेशनले बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग वितरणलाई निरन्तरता दिएको छ । फाउण्डेशनले नुवाकोटको बिदुर नगरपालिका–३, शिरखालीमा बाढीबाट प्रभावित परिवार तथा अस्थायी आश्रयस्थलमा रहेका नागरिकलाई विभिन्न प्रकारका राहत सामग्री वितरण गरेको हो ।
फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरका अनुसार शिरखालीमा गरिएको राहत वितरण कार्यक्रममा कुल २०० राहत सेट वितरण गरिएको छ । बाढीका कारण जमिनमा क्षति पुगेका १५० परिवारलाई चामल तथा अन्य खाद्य सामग्रीसहितको रासन सेट र तत्काल उपभोगका लागि इन्स्ट्यान्ट चाउचाउ वितरण गरिएको थियो ।
त्यस्तै, बाढीका कारण घर पूर्ण रूपमा नष्ट भएका ३० परिवारलाई थप राहतसहितको पूर्ण प्याकेज उपलब्ध गराइएको अध्यक्ष थोकरले जानकारी दिनुभयो । उक्त प्याकेजमा चामल तथा रासन, त्रिपाल, कम्बल, सुत्ने म्याट, पानी तताउने विद्युतीय जग, झुल, फोहोर व्यवस्थापनका लागि डस्टबिन, प्राथमिक उपचार किट, व्यक्तिगत सरसफाइ किट, शिशुका लागि दूधको धुलो तथा सोलार बत्ती लगायतका सामग्री समावेश छन् ।
फाउण्डेशनले बाढी प्रभावितलाई व्यक्तिगत रूपमा राहत उपलब्ध गराउनुका साथै चण्डी आधारभूत विद्यालयमा सञ्चालित अस्थायी आश्रयस्थललाई समेत सहयोग गरेको छ । आश्रयस्थलमा रहेका प्रभावितका लागि २० सेट चामल तथा रासन उपलब्ध गराइएको अध्यक्ष थोकरले बताउनुभयो । बाढी तथा पहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्नसँगै आवास, सरसफाइ, स्वास्थ्य तथा प्रकाशको व्यवस्थासमेत आवश्यक हुने भएकाले फाउण्डेशनले राहत प्याकेजमा विभिन्न प्रकारका सामग्री समेटेको जनाएको छ ।

अध्यक्ष थोकरका अनुसार कान्छीमाया तामाङ फाउण्डेशनले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा राहत तथा सहयोग वितरणलाई निरन्तरता दिइरहेको छ । विपद्को समयमा प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्दै उनीहरूको दैनिक जीवन सहज बनाउन फाउण्डेशनले आफ्नो तर्फबाट सहयोग गर्दै आएको उहाँले बताउनुभयो । बाढीबाट घर, जमिन तथा दैनिक जीवनयापनका आधार गुमाएका परिवारलाई खाद्यान्नसँगै सुरक्षित बसोबास, सरसफाइ र स्वास्थ्यसम्बन्धी सामग्री उपलब्ध गराउँदा विपद्पछिको कठिन अवस्थामा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया