काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौ वटा बैंकमा रु नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ मौज्दात छ ।
त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा रु दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ । राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो ।
यसैबीच नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता हासिल भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सडक सञ्जाल यसरी जोडिएको हो । भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खुला गरिएको छ ।
यसअघि साना हेलिकाेप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेँसीतर्फबाट सडक निर्माण सुरु गर्दा पहिले एक्स्काभेटर प्रयोग गरी ५५० मिटर बाटो तयार पारिएको थियो । तत्पश्चात् बाँकी रहेको कडा पहरा चिर्न नेपाली सेनाले ९ पटक नियन्त्रित ब्लास्टिङ गरी थप ५०० मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो ।
पहरा फोर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ । भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकेकाले आइतबारसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया