मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुबाहक ईभी गाडी सडकबाट करिब एक हजार मिटर तल खस्दा चालकसहित चार जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुबाहक ईभी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत सुकौरामा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार गाडी सडकबाट करिब एक हजार मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । घाइते हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् ।
दुर्घटनामा घाइते भएका दुई पुरुष र एक महिलालाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ भने एक जना महिलालाई उपचारका लागि हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जनाको टोली उद्धारमा खटिएको थियो ।
प्रारम्भिक विवरण अनुसार उक्त यात्रुबाहक ईभीमा चालकसहित आठ जना सवार रहेका थिए । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया