काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने हाम्रो मौलिक संवतको रुपमा रहेको बताउनुभएकाे छ।
लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवत्लाई प्रचलनमा ल्याएको मान्यता रहेकाे बताउँदै उहाँले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सुत्रमा आवद्ध रहेको सन्दर्भमा हाम्रा चाडपर्व र सांस्कृतिक अभ्यास दर्शाउने यस्ता परम्पराहरूले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचान आदिलाई सुदृढ बनाउँदै लगेकाे उल्लेख गर्नुभएकाे छ ।
शुभकामना सन्देशमा भनिएकाे छः ‘नेपाल संवत् ११४६’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक संवत् को रुपमा रहेको देखिन्छ । यस संवत्को पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवत्को नयाँ वर्षको रूपमा काठमाडौँ उपत्यकालगायत नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानहरूमा नयाँ संवत् शुरू हुने विशेष पर्वका रूपमा मनाउने गरिन्छ।

लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ । नेपाली समाज सभ्य, सहिष्णु र एकताको सुत्रमा आवद्ध रहेको सन्दर्भमा हाम्रा चाडपर्व र सांस्कृतिक अभ्यास दर्शाउने यस्ता परम्पराहरूले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचान आदिलाई सुदृढ बनाउँदै लगेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाबाट भएका जनताको स्वतन्त्रता र आर्थिक मुक्ति जस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर एवम् कटिवद्ध रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु।
अन्त्यमा‚ नेपाल संवत्ले सम्पूर्ण नेपालीबीचमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न तथा नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई अझ सुदृढीकरण गर्न थप मद्दत पुग्ने विश्वासका साथ नेपाल संवत् ११४६ को हार्दिक शुभकामना व्यक्त गर्दछु।
जय नेपाल !
२०८२ साल कात्तिक ५ गते, बुधबार ।
ने.सं. ११४६ कछलाथ्व प्रतिपदा ।
प्रतिक्रिया