काठमाडौँ । विद्युत् निर्यातबाट साढे दुई महिनामा १५ अर्ब रुपैयाँ बराबरको आम्दानी भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
उनले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको बताए।
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रूपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ।
त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ। प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ।नागरिकबाट
प्रतिक्रिया