काठमाडौँ। बन्द रहेको मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्र खुलाउन सम्बन्धित पक्षसँग वार्ता सुरु गरिएको छ।
तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग १३ महिनाअघि भएको सम्झौता कार्यान्वयन माग गर्दै स्थानीयवासीले बिहीबार मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्र बन्द गरेका थिए । पाँच दिनअघि मेलम्ची खानेपानीको काठमाडौँस्थित कार्यालयमा पनि स्थानीय सरोकार समितिले तालाबन्दी गरेको थियो ।
मुहान बन्द गरिएपछि बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँमा ल्याइने पानी वितरण पूर्णरूपमा रोकिएको छ । मेलम्चीको मुहान बन्द हुनुअघि काठमाडौँमा दैनिक १८/१९ करोड लिटर पानी आइरहेकोमा अहिले मुहानबाट पानी पूर्णरूपमा बन्द भएको छ । २०७८ असार १ गते मेलम्चीमा आएको बाढीपछि सो क्षेत्रमा उत्पन्न समस्या सम्बोधन गर्न तत्कालीन खानेपानीमन्त्री यादव र मेलम्ची बाढीपीडित सङ्घर्ष समितिबिच २०८१ असोज २१ गते सम्झौता भएको थियो ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बन्द रहेको मुहान खुलाउन विभिन्न स्थानीय पक्षसँग शुक्रबार र शनिबार सकारात्मक वार्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबारसमेत वार्ता गर्न स्थानीयवासीलाई बोलाइएको छ । पानीजस्तो अत्यावश्यक विषय रोक्न नहुने भन्दै मुहान खुलाउन सबै पक्ष सकारात्मक देखिएको उहाँको भनाइ छ ।
मुहान बन्द गर्ने विभिन्न पक्षले राखेका माग सम्बोधन खानेपानी मन्त्रालयबाट मात्र सम्भव हुन नसक्ने देखिएपछि यो विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालय, मुख्य सचिवलगायत सरोकारवाला निकायसम्म पुगिसकेको र त्यहाँबाट माग सम्बोधनको पहल भइरहेको जानकारी दिनुभयो ।
मेलम्ची बाढीपीडित सङ्घर्ष समितिलगायत अनेकन पक्षले विभिन्न माग राखी मुहान क्षेत्र बन्द गरेको बताउँदै प्रवक्ता पन्तले सबै पक्षलाई पालैपालो वार्तामा बोलाएर छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्ची आयोजना निर्माण जिम्मेवारी पाएको इटालियन निर्माण कम्पनी सिएमसीले विभिन्न स्थानीय पसलबाट उधारोमा निर्माण सामग्री खरिद गरेर भाग्दा ती आपूर्तिकर्ताले भुक्तानी नपाएको भन्दै आयोजनाको मुहानमा अवरोध सिर्जना गरेका छन् । सिएमसी २०७५ सालमा आयोजना छाडेर भागेका थिए ।गाेरखापत्रबाट
प्रतिक्रिया