काठमाडौँ । गत वैशाखदेखि हालसम्म देशभर भएका विपद्का घटनामा ३१४ जनाको मृत्यु भएको छ । कूल चार हजार एक सय ९७ विपद्का घटना भएका छन् । जसबाट ८ हजार ६२७ घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सो अवधिमा १ हजार १२२ जना घाइते भएका छन् । यस्तै, ३२ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार साढे ६ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । एक हजार ३९१ वटा आगलागीका घटना हुँदा २४ जनाको मृत्यु भएको छ भने एक सय ९२ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ५१२ घरपरिवार प्रभावित भएका छन् ।
बाढीका ३१३ घटना हुँदा ३७ जनाको मृत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा तीन हजार ३०३ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ५४२ वटा पहिरोका घटना भएका छन् । पहिरोमा परेर ६६ जनाको मृत्यु भएको छ भने ७७ घाइते भएका छन् । ८ जना बेपत्ता भएका छन् ।
यसैगरी यसबीचमा भारी वर्षाका मात्रै ४१२ घटना भएका छन् । त्यसमा परेर ७ जनाको ज्यान जाँदा १८ घाइते भएका छन् भने ९९१ परिवार प्रभावित भएका छन् । ३४९ वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ४४ जनाको ज्यान गएको छ भने २५९ जना घाइते भएका छन् । यस्तै, ४२८ परिवार प्रभावित भएका छन् । सर्पदंशका ४४३ घटना भएका छन् । सर्पको डसाईबाट ८७ जनाको ज्यान गएको भने ३६० जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार, वन डढेलोका १५८ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८५ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइते भएका छन् । हावाहुरीमा परेर ५४२ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका २३८ घटना घट्दा २२ जनाको निधन भएको छ । यस्तै, १०८ जना घाइते हुँदा ३९५ परिवार प्रभावित भएका छन् ।
विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको र पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया